Agni Offset Press

भारतले महाकालीको वहाव दार्चुलातर्फ फर्काउदै, स्थानीयद्वारा प्रतिकार

Aarati simant

दार्चुला : दार्चुला सदरमुकाम खलंगास्थित महाकाली नदीको बहाव भारतीय पक्षले नेपालतर्फ फर्काएपछि स्थानीयबीच ढुंगा हानाहान भएको छ । नेपाली प्रशासनसँग समन्वय नै नगरेर भारतले एकतर्फी तरिकाले महाकालीमा स्काभेटर चलाएर वहाव परिवर्तन गर्न थालेपछि दुबै देशका नागरिकका बीचमा मंगलवार ढुंगा हानाहान भएको प्रतक्षदर्शी भोजराज जोशीले बताए ।
महाकाली नदीको बहाव सदरमुकाम खलंगातिर धकेलिने गरी भारतले महाकाली नगरपालिका–४ स्थित नदीमा स्काभेटर चलाएपछि ढुंगा हानाहान भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले समेत स्वीकार गरे । नेपाली प्रशासनसँग समन्वय नै नगरी संरचना निर्माण गरिरहेको भारतले तटबन्ध निर्माणमा नेपाली भूभागबाट ढुंगा उत्खनन् गरेको प्रजिअ उपाध्यायले बताए ।
नदीबाट ढुगां, बालुवा, टिट्टी उत्खनन गरेर भारतले आफुखुसी सीमा क्षेत्रमा तटबन्ध बनाउन थालेपछि ढुंगा हानाहान भएको हो ।
भारतीय पक्षले पुरानो बाधेको तटबन्धसंगै महाकाली नदीमा नेपालतर्फ ८ देखि १० मिटर चौडाई र १० मिटर उचाईको तटबन्ध निर्माण गरिरहेको बताइएको छ । तटबन्ध निर्माणसंगै झोलुंगे पुल क्षेत्र, बंगाबगड र डुमपानी क्षेत्रमा नदीको भाग साँघुरो हुने र महाकाली फर्किने खतरा बढेको स्थानीय खडक प्रकाश बडालले बताए ।
महाकाली हामीतिर फर्काउने संरचना यसअघि नै बनेका छन् । वर्षातमा नदीमा पानीको बहाव बढी भएका बेला नदी हाम्रोतिर आउँछ, महाकाली नगरपालिका–४ का स्थानीय रामदत्त भट्टले भन्नुभयो, अझै भारतले तटबन्ध बनाइरहेकाले यो क्रम बढ्ने जोखिम छ ।
अन्तराष्ट्रिय सन्धि–सम्झौता अनुसार सीमा नदीको बहावलाई असर पर्ने गरी कुनै पनि मुलुकले एकअर्काको सहमतिबिना भौतिक संरचना निर्माण गर्न पाइँदैन । तर दार्चुलामा भने नेपाली पक्षलाई जानकारी नै नदिएर भारतीय पक्षले नदीको बहाव परिवर्तन हुने किसिमले आफुखुसी पक्की तटबन्ध निर्माण गर्दै आएको छ ।
भारतीय पक्षलाई तटबन्धका बारेमा जानकारी दिन जिल्ला प्रशासन कार्यालय दार्चुलाले पटक पटक पत्राचार गरेको थियो । भारतीय पक्षले नेपाली प्रशासनलाई बेवास्ता गर्दै अहिलेसम्म तटबन्धका बारेमा जानकारी गराएको छैन् । भने निर्माणकार्य धमाधम गरिरहेको छ । गत माघमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले नेपाल भारतका अधिकारीहरुको बैठकमा तटबन्धको विषयमा भारतीय पक्षलाई जानकारी दिन ध्यानाकर्षण गराएको थियो ।
बैठकमा तटबन्धले नेपाली भूभागतिर केही असर नगर्ने प्रतिबद्धता जनाउँदै भारतीय पक्षले केही समयभित्रै तटबन्धबारे बिस्तृत जानकारी दिने भनेको थियो । बैठक सम्पन्न भएको एक महिना बढी समय बितिसक्दा पनि अझै पनि भारतीय पक्षले तटबन्धबारेमा कुनै जानकारी दिएको छैन् । तटबन्धको गत साता भारतको पिथौराढका जिल्ला अधिकारी डा. आसिस चौहानले अनुगमन समेत गर्नुभएको थियो । डिएम चौहानले तटबन्धको निरीक्षण गरि काम छिटो सम्पन्न गर्न निर्देशन दिएको पिथौरागढ जिल्ला प्रशासनले जनाएको छ ।
महाकाली नदी किनारमा तटबन्ध निर्माण गरिरहेको निर्माण कम्पनीका पदाधिकारीहरु संग बैठक गरि डिएम चौहानले तटबन्धको डिजाइन, गुणस्तर तथा समयसीमा बारे ध्यान दिन भनेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । महाकाली नदीको धार नेपाल तर्फ मोडिनेगरि निर्माण भइरहेको तटबन्धको नेपालमा विरोध भइरहेको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.