
दार्चुलामा भारतले महाकाली नदीको धार परिवर्तन गर्न थालेपछि स्थानीय आक्रोसित

अत्तरिया : दार्चुलामा भारतले महाकाली नदीको धार परिर्वतन गर्न थालेपछि स्थानीय आक्रोसित भएका छन् । दार्चुलाको महाकाली नगरपालिका–४ स्थित महाकाली पारि एकलौटी तरिकाले नदीको धार परिवर्तन गर्न थालेपछि स्थानीयवासी आक्रोशित भएका हुन् । भारतीय पक्षले सीमामा बलमिचाइँ गर्न थालेपछि शनिवार स्थानीयले सदरमुकाम खलङ्गास्थित आफ्नो भूमिबाट ढुगां प्रहार गर्दै विरोध जनाए ।
यसअघि स्थानीयले तटबन्ध रोक्न दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराइसकेको थिए । सरकारको तर्फबाट हुनै पहल नभएको स्थानीयको भनाई छ ।
तटबन्ध निर्माणका विषयमा भारतीय पक्षले समन्वय नै नगरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । नेपालतर्फ महाकालीको धार फर्किने गरेर तटबन्ध निर्माण कार्य नरोकिएकाले आफूहरू आन्दोलनमा उत्रिएको स्थानीयहरूले बताए ।
सुदूरपश्चिम प्रदेश सरकारका सभामुख, उपसभामुख सहितको प्रदेशसभा सदस्य र राजनीतिक दलहरूको टोली दार्चुलामा छ । तर, उनीहरूले भारतीय पक्षले गरेको ज्यादती नदेखे झैँ गरेको स्थानीय चक्रबहादुर बमले बताए ।
भारतले नेपाली क्षेत्रबाट निर्माण सामग्री लगेर तटबन्ध निर्माण गरिरहँदा समेत राजनीतिक दल, स्थानीय प्रशासन र सरकार मौन बस्नु राष्ट्रघाती काम भएको स्थानीय कृष्ण धामीले बताए । ‘भारतले समन्वय नै नगरी निर्माण गरिरहेको छ’, उनले भने । ‘यसमा सरकार पक्षले सुनुवाई गरेको छैन् ।’
