कञ्चनपुर ब्रह्मदेवमा एसएसबीको अवरोध, आफ्नै भूमिमा व्यापार गर्न रोक
कञ्चनपुर : कञ्चनपुरको नेपाली भूभागमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले व्यापारमा अवरोध सृजना गरेको छ । भीमदत्त नगरपालिका–९ ब्रह्मदेव बजार नजिक स्थानीयले व्यापारका लागि छाप्रो राख्न खोजे पछि एसएसबीले शुक्रवार अवरोध गरेको हो ।
ब्रह्मदेव बजार नजिक नेपाली भूमिमा एसएसबीले व्यापारका लागि पसल राख्न नदिएको हो । स्थानीय हरिश पन्तका अनुसार पूर्णागिरी मेलालाई मध्यनजर गर्दै त्रिपाल थापेर पसल राख्न खोजिएको थियो । तर एसएसबीले आफ्नै भूमि भन्दै पसल राख्न नदिएको हो । ‘बिगतमा मेलाको अवसरमा पसल राख्ने गरिन्थ्यो । यस पटक एसएसबीले अवरोध ग¥यो,’ उनले भने ।
भीमदत्त नगरपालिका–९ का वडाअध्यक्ष राम नाथले भारतीय पक्षले त्यस क्षेत्रमा सीमा स्तम्भ हराएको भन्दै केही काम गर्न नदिएको बताए । ‘स्तम्भ एकीन नभएकाले हामीले पनि केही काम गर्दैनौँ । तपाईहरु पनि अहिले केही काम नगर्नुहोस् भनेका छन्,’ उनले भने ।
वडाध्यक्ष नाथका अनुसार त्यही कारणले भारतीय पक्षले सो क्षेत्रमा सडक कालोपत्रे गर्नमा पनि अवरोध सृजना गर्दै आएको छ । ‘नगरपालिकाले दुई वर्ष अगाडि सडक कालोपत्रे गर्न टेन्डर खोलेर काम गर्ने तयारी गरेको थियो,’ उनले भने, ‘तर भारतीय पक्षको अवरोधले सडक कालोपत्रे हुन सकेको छैन ।’
ब्रह्मदेव नजिक भारतीय पक्षले स्थानीयलाई व्यापार गर्नमा अवरोध गरे पछि शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारी तथा सुरक्षा निकायका प्रमुख त्यहा पुगेका थिए ।