चुरे गाउँपालिकाको ५ बर्ष : बाढी पीडितका समस्यामा वेवास्ता
अत्तरिया : स्थानीय सरकारका पाँच बर्ष सकीदै छ । सरकारले आसन्न बैशाख ३० गते स्थानीयतहको निर्वाचन घोषणा गरीसकेको छ । स्थानीय सरकारले पाँच बर्षमा गरेका विकासी कामको समीक्षा सुरु भएको छ । अधिकांस स्थानीय तहमा पाँच बर्षका विकासको काम भन्दा बढी कार्यकर्ताहरु पोस्ने काम भएको गुनासो चौतर्फी छ । शहरमा रहेका स्थानीय तहको विभिन्न सञ्चार माध्याममा फरक–फरक एंगलमा समाचार आए पनि ग्रामिण ठाउँमा रहेका स्थानीय सरकारका समाचारहरु आउन सकेका छैनन् ।
ग्रामिण ठाउँका स्थानीय तहले समस्याहरु पहिचान समेत गर्न सकेनन् । जथाभावि रुपमा सडक खनिए पनि ती सडकको स्तरोन्नति गर्न सकेका छैन् । मलाग्दी तरिकाले खनिएका सडकले गर्दा जताततै पहिरो खसेका छन् । स्थानीय सरकारले पाँच बर्षमा एउटा सडक समेत नमुनाका रुपमा बनाउन सकेका देखिएको छैन् । कैलालीको चुरे गाउँपालिकाले आफ्नै कार्यालय जोड्ने सडक समेत पाँच बर्षमा बनाउन सकेको अवस्था छैन् ।
निर्वाचनको पाँच वर्ष पूरा हुनै लाग्दा चुरे गाउँपालिकाको कार्यालयसम्म जाने सडकसमेत स्तरीय छैन । सहजपुरदेखि चुरे गाउँपालिकाको कार्यालयसम्म जोड्ने सडकको अवस्था नाजुक रहेको नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार टिकाराम ढुंगानाले बताए । उनले भने, ‘निर्वाचनका समयमा भन्दा सडकको अवस्था नाजुक छ । गाउँपालिकाको कार्यालयसम्म जाने सडकको हालत कस्तो भएको छ । कार्यालय जोड्ने सडक, खैराला जोड्ने सडक, निगाली, पखिर जोड्ने सडकको दुरावस्ता भएको छ ।’ उनका अनुसार जनप्रतिनिधिले घोषणा गरेको २५ प्रतिशत पनि काम भएको छैन । नेता ढुंगानाले भने, ‘उहाँहरुले घोषणापत्र राम्रो बनाउनु भएको थियो । तर घोषणा पत्र अनुसार काम गर्न सक्नुभएन । उहाँहरुले पाँच वर्षसम्म पनि कर्मचारीको पदपूर्ति गर्न सक्नुभएन ।’
यस्तै माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार बनेका किसन साउँद (विशाल) ले पनि निर्वाचनको समयका घोषणाहरु भुलेको बताएका छन् । उनले भने, ‘म विजयी भएन । विजयी भएकाहरुलाई सोध्नु । मैले निर्वाचनका घोषणाहरु भुलिसके ।’
चुरे गाउँपालिकामा नेकपा एमालेबाट विजयी भएका अध्यक्ष छन् । नेपाली काँग्रेस, माओवादी केन्द्र लगायत दलका उम्मेदवारलाई हराउँदै गाउँपालिका अध्यक्षमा धनबहादुर रोकामगर विजयी भएका थिए । गाउँपालिकामा भएका समस्याहरु समेत पहिचान गर्न सकेका छैन् । पाँच बर्षमा आफ्नो पालिका भित्र रहेका पहिरो पीडितको समेत आवाज सुन्न सकेन् । यसले गर्दा ती नागरिकहरु जंगल वा सडकमा वास बस्न बाध्य भएका छन् । चुरे गाउँपालिकाका झण्डै पाँच सय परिवार चुरे फेदीको जंगलमा एक वर्षदेखि बास बस्दै आएका छन् । उनीहरुको व्यवस्थापनमा गाउँपालिकाका जनप्रतिनिधि असफल भएका छन् ।
चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोका मगरले भने । ‘हामीले तथ्यांक संकलन लगायतका काम गरेका छौं । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई २ पटक भेटेका थियौं । तर, उहाँले आफू केही गर्न नसक्ने बताउनुभयो । संघीय सरकारसँग पनि आग्रह ग¥यौँ । तर, अझै उहाँहरुको जंगलमा बास छ ।’ उनले खानेपानी, त्रिपाल बाहेक अन्य सहयोग गर्न नसकेको बताए ।
चुरे गाउँपालिकामा सबै नागरिकलाई स्वास्थ्य र शिक्षामा पहुँच पु¥याउने एमालेका उम्मेदवार धनबहादुर रोकामगरको घोषणा थियो । गाउँपालिकामा विद्यालय र स्वास्थ्यका भवनहरु निर्माण गरिएको छ । तर, अध्यापनका लागि शिक्षक र स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको अभाव छ ।
चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकामगरले भने सडक क्षेत्रमा सबैभन्दा ठूलो प्रगति गरेको दाबी गरेका छन् । ‘पाँच वर्षमा धेरै काम भएको छ । सबैभन्दा ठूलो बजेट सडकमा खर्च भएको छ । सडकको प्रगति प्रमुख हो । अरु पनि काम भएका छन’ उनले भने । अरु के–के विकास भएको छ भन्ने प्रश्नमा उनले कुनै उत्तर दिएनन् ।