Agni Offset Press

राष्ट्रिय कृषिगणना २०७८ : कैलालीमा बैशाख पहिलो साताबाट सुरु हुँदै

Aarati simant

अत्तरिया : कैलालीमा बैशाख पहिलो साता देखि कृषि गणना सुरु हुने भएको छ । राष्ट्रिय कृषि गणना २०७८ सम्बन्धि जिल्लास्तरिय कृषिगणना सचेतना गोष्ठी गरी कृषिगणनाका बारेमा जानकारी दिएको हो ।
प्रदेश कृषि गणना कार्यालय सुदूरपश्चिमको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रदेश कृषि गणना कार्यालयका प्रमुख कुलप्रकाश न्यौपानेले आगामि बैशाख ६ गते देखि जेठ १९ गते सम्म सञ्चालन हुने जानकारी गराए ।
कार्यालय प्रमुख न्यौपानेले कृषिकहरुलाई सत्यतथ्य तथ्यांक उपलब्ध गराएर सहयोग गर्न सबैलाई आग्रह समेत गरे । उनका अनुसार देशभरका साढे ३ लाख घर परिवारलाई प्रतिनिधिमूलक घरका रूपमा छानिने र नमुना छनोटमा परेका घरमा गणकहरू पुगेर विवरण भर्नेछन् । सो मध्ये जिपिएस सिस्टमबाट कैलालीका सबै स्थानीय तहका वडा समेटिने छन् ।
वैशाख ३ भित्र तालिम प्रदान गरी ६ गते देखि जेठ १९ सम्म तथ्यांक संकलनका लागि खटाइने कार्यतालिका रहेको छ । देशभर पाँच हजार २३ जना गणक कृषि गणनाका लागि खटिनेछन् । उनीहरूको सहजीकरणको लागि एक हजार दुई सय ८० जना सुपरिवेक्षक खटिने भएका छन् ।
नेपालमा पहिलो पटक २०१८ सालमा कृषि गणना भएको थियो । प्रत्येक १०÷१० वर्षमा गरिने कृषि गणना अहिले सातौं पटक गर्न लागिएको हो । कृषि गणनाका लागि करिब दुई दर्जन प्रश्न समेटेर प्रश्नावली तयार भएको छ । कृषि गणनाबाट कृषिसँग सम्बन्धित सम्पूर्ण विवरण प्राप्त हुने विश्वास लिइएको छ । खेतीयोग्य जमिन, जमिनमा प्रयोग भइरहेको मलदेखि विषादीसम्मको विवरण समेट्ने गरी प्रश्नावली बनाइएको छ । कृषि गणनामा नेपालका प्रत्येक जिल्लाको कृषि संरचना, गतिविधि तथा कृषि उत्पादनसँग सम्बन्धी विवरण संकलन गरिन्छ ।
कृषकले चलन गरेको जग्गाको आधार, जग्गाको उपभोग र उपयोग, बाली लागेको क्षेत्रफल र बालीको उत्पादन, सिँचाइ, पशुपन्छी संख्या, कृषि औजारको उपयोग, कृषि कर्ममा संलग्न जनशक्तिजस्ता विषयमा तथ्यांक संकलन गरिने विभागले जनाएको छ ।
यसबाट कृषि क्षेत्रको योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकनमा मुलुकलाई आवश्यक पर्ने तथ्यांक उपलब्ध हुने भएको छ । गणना कार्य ४५ दिन भित्रमा सम्पन्न गरिसक्ने कार्यालयले जनाएको छ ।
नेपालको जनंसख्या २०७८ का आधार मानेर कृषि गणना गर्न लागेको हो । कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका उपप्रमुख सुन्दरदेबी चौधरीले कृषिगणना आवश्यक रहेको तर, समय अलि नमिलेको हो की भन्ने प्रश्न गरिन् । ‘कृषि गणना आवश्यक हो’, उनले भनिन् । ‘स्थानीय निकायको निर्वाचनको चटारोसंगै हुने हुँदा समस्या हुन्छ होला । ’
यस्तै कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सबै किसानलाई समट्ने गरी पर्याप्त प्रचाप्रचार आवश्यक रहेको बताए । कसैले कृषि जनगणाका बारेमा गलत समेत बुझेको हुनसक्ने भन्दै प्रमुख जिल्ला अधिकारी थापाले स्पष्ट ढंगल बुझाएर मात्र अगाडि बढ्न सुझाए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.