Agni Offset Press

आजदेखि टाईफाईड बिरुद्धको औषधी खुवाइने

कैलालीमा २ लाख ४९ हजार बालबालिकाहरुलाई औषधी खुवाउने लक्ष्य

Aarati simant

अत्तरिया : कैलालीका आज (बुधबार) देखि टाईफाईड रोग बिरुद्धको औषधी खुवाइने भएको छ । टाईफाईड रोग बिरुद्धको औषधी सेवनको देशब्यापी अभियान अन्र्तगत कैलालीका विभिन्न स्थानीयतहमा १५ महिना देखि १५ बर्ष मुनिका बालबालिकाहरुलाई औषधी खुवाइने भएको हो ।
स्वास्थ्य कार्यालय कैलाली अभिमुखीकरण कार्यक्रम गरी खोप अभियानका बारेमा जानकारी दिएको हो । अभियान अन्र्तगत बुधबार देखि बैशाख १५ गते सम्म औषधी खुवाइने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । यद्यपी कैलालीमा पहिलो हप्ता सम्म सम्पूर्ण पालिकाहरुमा औषधी खुवाई सक्ने लक्ष्य रहेको छ । जिल्लामा केहि स्थानीय तहले आज बाट सुरु गर्ने छन् भने केहिले शनिबार बाट पनि सुरु गर्ने जनाएका छन् ।
जिल्लामा रहेका निजि तथा संस्थागत विद्यालयहरु र स्वास्थ्य संस्थामा केन्द्र राखेर औषधी खुवाउने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए ।
जिल्लाका १५ महिना देखि १५ बर्ष मुनिका २ लाख ४९ हजार बालबालिकाहरुलाई औषधी खुवाउने लक्ष्य रहेको छ । यसका लागि एक हजार २ सय ६१ जना स्वास्थ्य महिला स्वयंमसेविका, ९ सय जना महिला शिक्षक र ४ सय स्वास्थ्यकर्मी परिचालन गरिने छ ।
१५ बर्ष मुनिका बालबालिकाहरुमा टाईफाईड रोगको प्रकोप बढी देखा परेकाले उनीहरुलाई औषधी खुवाउनु परेको कार्यालय प्रमुख धामीले बताए । ‘१५ बर्ष मुनिका बालबालिकाहरु आफैमा परिपक्क भएका हुदैनन्, सरसफाईमा ध्यान नदिई लापरबाही गर्दा टाईफाईडको प्रकोप बढी देखा पर्ने गरेको छ ।’ उनले भने । अस्पताल भर्ना हुने बिरामीहरु मध्ये बिरामीको चौथौ कारण टाईफाईड रोग नै रहेको उनको भनाई थियो ।
अभिमुखीकरण कार्यक्रमका प्रमुख अतिथि कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले अभियान सफल पार्नका लागि सम्पूर्ण स्वास्थ्यकर्मीहरुको सक्रियता आवश्यक रहेको बताए । उनले खोप अभियान सफल पार्नका लागि विद्यालयको भूमिका पनि महत्वपूर्ण रहने बताए ।
टाइफाइड खोपबाट यो रोगको संक्रमणमा उल्लेख्य कमी ल्याउन सकिने पुष्टि भएको भन्दै राष्ट्रिय खोप सलल्लाहकार समितिले १४ अगष्ट, २०२० मा टाइफाइड खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न सिफारिस गरेको थियो ।
विश्व स्वास्थ्य संगठनले टाइफाइड खोपलाई नेपालसहित सबै टाइफाइड प्रभावित देशहरूमा प्रयोगको लागि सिफारिस गरेको छ । यो खोप अभियानसँगै टाइफाइड खोपको सुरुवात गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र नेपाल हो ।
टाइफाइड साल्मोनेला टाइफीको संक्रमणबाट हुने गम्भीर रोग हो । जुन ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ । यो रोग लागेमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने, पखाला लाग्ने र बान्ता हुने हुन्छ ।
खोप अभियानका क्रममा टाइफाइड खोप स्थानीय तहको प्रत्येक वडामा तोकिएको विद्यालयहरूको खोप केन्द्रमा उपलब्ध हुनेछ । विद्यालय नभएका वा कम भएका वडाहरूमा आवश्यकता अनुसार बाह्य खोप केन्द्र संचालन गर्ने महाशाखाले जनाएको छ ।
टाइफाइड खोप लगाएपछि अन्य खोपहरुमा जस्तै केही सामान्य (सूई लगाएको ठाउँमा रातो हुने, सुन्निने र दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नी दुख्ने आदि) असर हुनसक्छन् र यस्ता सामान्य असरहरु विस्तारै आफैं ठीक भएर जान्छन् ।
खोप लगाएपश्चात यस्ता लक्षणबाहेक अन्य स्वास्थ्य जटिलता देखा परेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ । यो खोप विगतमा कुनै खोप लिँदा प्रकारको प्रतिक्रिया देखा परेको वा कुनै खाना वा अन्य वस्तुबाट कडा एलर्जी भएको भए, एड्सको लक्षण देखा परेको अवस्थामा दिनुहुँदैन । साथै उच्च ज्वरो आएको वा सिकिस्त बिरामी भएको अवस्थामा दिनुहुँदैन, तर बिरामी ठीक भइसकेपछि यो खोप लिन सकिन्छ ।
तर साधारण बिरामी भएको अवस्था जस्तै, हल्का ज्वरो आएको, रुघाखोकी लागेको, कुपोषण भएको अवस्थामा यो खोप लगाउन मिल्छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.