सुदूरपश्चिम सरकारमा कांग्रेस सहभागी हुने, चुनावी तालमेल पनि हुने : बलायर
अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकारमा सत्ता गठबन्धनले नेपाली कांग्रेसलाई सहभागी गराउने भएको छ । सत्ता गठबन्धनको केन्द्रीय नेतृत्वले सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसलाई सहभागी गराउन छलफल गरेको हो । अहिले सुदूरपश्चिममा माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकार छ । प्रदेश सरकारमा माओवादी केन्द्रबाट मुख्यमन्त्री, अन्य दुई मन्त्री र एक जना राज्यमन्त्री, एकीकृत समाजवादीबाट ४ मन्त्री र ३ राज्यमन्त्री सहभागी छन् ।
सुदूरपश्चिम प्रदेश सरकारमा सहभागिताबारे केन्द्रीय नेतृत्वबीच छलफल भएको कांग्रेस सुदूरपश्चिम सभापति बीरबहादुर बलायरले बताए ।
‘सत्ता गठबन्धन हो भने सबै प्रदेशमा हुनुपर्छ भनेका थियौं, त्यही कारणले चुनावी तालमेल हुँदैन भन्दै आएको थिए, आज केन्द्रमा छलफल भएको छ,’ उनले भने, ‘हामीले तीन मन्त्रालय मागेका छौं ।’ केन्द्रमा भएको सहमतिअनुसार नेपाली कांग्रेस केही दिनमै सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुनेछ । चैत २५ गतेबाट चुनावी आचारसंहिता लाग्ने भएकाले त्यसअघि नै सरकारमा सहभागी हुने गरी गृहकार्य भइरहेको छ ।
सुदूरपश्चिम सरकारमा कांग्रेस सहभागी हुने भएपछि गठबन्धन बलियो बन्ने देखिएको छ । यसअघि प्रदेश सभापति चुनावी तालमेल नहुने धारणा दिदै आएका थिए । ‘सरकारमा हामी सहभागी हुने भएपछि चुनावी तालमेल हुन्छ नै,’ उनले भने, ‘सुदूरपश्चिम सरकारमा हाम्रो प्रतिनिधित्व नभएकै कारणले मैले असहमति जनाएको थिए ।’