पद्मा अस्पताल तोडफोडको घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन माग
धनगढी,२४ चैत : कैलालीको अत्तरियामा रहेको पद्मा अस्पतालमा भएको तोडफोडको घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गरिएको छ ।
बिहिबार एशोसियशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसनले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाउँदै सो माग गरेको हो ।एशोसियशनका सुदूरपश्चिम प्रदेश अध्यक्ष जनकराज जोशीको नेतृत्वको टोलीले बुझाइएको ज्ञापन पत्रमा पदमा अस्पतालमा भएको घटनाका विषयमा संवेदनशील भएर कडाइका साथ अगाडी बढ्न र घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन माग गरिएको छ ।
‘आक्रमण गर्ने, तोडफोड गर्नेहरूलाई समयमा नै कानुनको दायरमा ल्याई सजाय दिने होइन भने अझै तिनका मनोबल बढ्ने र यस्ता विकृतिहरू अझै बढ्दै जाँदा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरू धरासयी हुँदै जानेछन्’ ज्ञापन पत्रमा भनिएको छ, ‘देश भरीका अस्पतालहरू सञ्चालनको शान्ति पूर्वक वातावरण निर्माण गर्न र उदासीनता आउन नदिन हामी जोरदार माग गर्दछौ ।’ गत शनिवार गोदावरी नगरपालिका– ३ का ३८ वर्षीय विनोद कुमार बोहराको मृत्यु भएपछि स्थानीयले अस्पतालमा तोडफोड गरेका थिए । तोडफोडका कारण करिब ८० लाख रुपैयाँको क्षति भएको अस्पतालले जनाएको छ ।