देउवाका विश्वासपात्र साउद र लेखकको स्वीकारेन तालमेल
अत्तरिया : नेपाली काँग्रेसका पार्टी सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र मानिने नेताद्वय एनपी साउद र रमेश लेखकको गृहजिल्ला कञ्चनपुरका चार स्थानीय तहमा नेपाली कांग्रेसले चुनावी तालमेल अस्वीकार गरेको छ ।
कञ्चनपुरको भीमदत्त, बेलौरी, पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकामा कांग्रेसका पालिकास्तरीय कार्यसमितिहरूले स्थानीय निर्वाचनमा तालमेल अस्वीकार गरेका हुन् । कांग्रेसको भीमदत्त, बेलौरी र पुनर्वास नगर कार्यसमिति, बेलडाँडी र लालझाडी गाउँ कार्यसमितिले पार्टी एक्लै निर्वाचन जित्न सक्षम रहेको जिकिर गर्दै तालमेल अस्वीकार गरेका छन् ।
बेलौरी नगर कार्यसमितिले बिहीबार प्रदेशसभा क्षेत्रीय कार्यसमितिदेखि केन्द्रीय कार्यसमितिलाई गठबन्धनसम्बन्धी गरेको पत्राचारमा पालिका कांग्रेस एकतावद्ध भएर अगाडि बढ्ने संकल्प गर्दै तालमेल आवश्यक नरहेको उल्लेख छ । पुनर्वास नगर कार्यसमितिले जिल्ला कार्यसमितिलाई पठाएको पत्रमा चुनावी तालमेलका लागि सर्तहरू अघि सारेको छ भने लालझाडी गाउँपालिका कार्यसमितिले पनि प्रदेशसभा क्षेत्रीय कार्यसमितिदेखि केन्द्रीय कार्यसमितिसम्म पत्र पठाएर एक्लै चुनावमा जाने निर्णय गरिएको जनाएको छ ।
कञ्चनपुरका नौ पालिकामध्ये क्षेत्र नम्बर ३ को दोधारा–चाँदनी र क्षेत्र नम्बर २ का कृष्णपुर, शुक्लाफाँटा र वेदकोट नगरपालिकाका कांग्रेसका समितिहरुले भने तालमेलको विरोध गरेर निर्णय गरेका छैनन् ।