चौकीडाँडामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते
अत्तरिया : कैलालीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। बिहीबार जिल्लाको गोदावरी नगरपालिका–३ चौकीडाँडामा अत्तरियाबाट गुलरियातर्फ जाँदै गरेको से ४ प ४७३० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको सुपप्र ०१ ००४ प १११ नम्बरको बुलेट मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा गुलरियातर्फ जाँदै गरेको मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिका–५ का २७ वर्षीय लोकेन्द्र पार्की र अन्दाजी ३२ वर्षीय पुरन मडैको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा बिहिबार राति नै मृत्यु भएको हो।
त्यस्तै, उक्त मोटरसाइकलका सवार कृष्णपुर–५ कै २१ वर्षीय महेश पार्कीको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ। अर्को मोटरसाइकलका सवार दीपक भट्टको भने ठेगाना नखुलेको र उनको पनि धनगढीमै उपचार भइरहेको छ। दुवै सवारी अस्थायी प्रहरी पोष्ट चौकीडाँडाको नियन्त्रणमा रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।