सुदूरपश्चिम प्रदेशमा जसपाले गठबन्धन तोड्दै
अत्तरिया : सुदूरपश्चिम प्रदेशमा जनता समाजवादी पार्टी जसपाले गठबन्धन तोड्ने जनाएको छ । पाँच दलीय गठबन्धन मध्येको एक दल जसपाले सुदूरपश्चिम प्रदेश सरकारमा आफ्नो पार्टीलाई विभेद गरेको भन्दै गठबन्धनमा रहनुको अर्थ नरहने स्पष्ट पारेको हो ।
शुक्रवार सरकार पुनर्गठन हुँदा कांग्रेसका दुई मन्त्री र एक राज्य मन्त्री थपिदा जसपालाई सहभागी नगराएको भन्दै उनीहरू रुष्ट भएका हुन् । यस अघि सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी र एकीकृत समाजवादी पार्टीको सहभागिता रहेको थियो । कांग्रेसले सरकारमा सहभागी नगराए गठबन्धन नहुने भन्दै आए पनि कांग्रेसका दुई मन्त्री एक राज्य मन्त्री थपिएका हुन् । तर, जसपालाई वास्ता नगरेको भन्दै गठबन्धन आजै तोड्ने एक नेताले बताए ।
५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा जनता समाजवादी पार्टी जसपाको तर्फबाट एक जना प्रदेशसभा सदस्य छन् ।