बैतडीमा विद्युत सामग्रीको दुरुपयोग- बार बार्न तार, घरमा पोलको पिल्लर
बैतडी : बैतडीका अधिकांश ग्रामीण क्षेत्रमा विद्युत् विस्तार हुन नसक्दा स्थानीय बासिन्दाहरू अन्धकारमा बस्नुपरेको छ । केही ग्रामीण क्षेत्रमा बिद्युत् तार र खम्बा अपुग हुँदा बिजुली बल्न सकेको छैन ।
कतिपय ठाउँमा भने पुगाएका विद्युत् खम्बा र तारहरूको चरम दुरुपयोग भएको देखिन्छ । जिल्लाको सिगास गाउँपालिका वडा न। ७ न्वाघरमा एक किसानको खेतबारीमा विद्युत् तारहरूले बार लगाइएको छ ।
स्थानीय किसान रामसिंह साउदले आफ्नो २ रोपनी खेतमा उक्त विद्युत् तारहरुको बार लगाएका हुन् । सो क्षेत्र मुख्य बाटो छेउमै पर्ने भएकाले आवतजावत गर्ने सबैले तारको दुरुपयोग प्रस्ट देख्छन् तर कोही बोल्दैनन् । खेतको बार मात्रै नभई आल्मोनियनका विद्युत् तारहरूबाट आरन व्यवसायीहरूले कराई, मान्द्रो, ताप्के, ढकारे जस्ता भाँडाकुँडा बनाउने गर्दछन् । सिगार ४ मा गडतोलामा बस्ने करिब १ दर्जन आरन व्यवसायीले उक्त सामग्रीको दुरुपयोग गरेको स्थानीय सुरेन्द्र साउदले बताए ।
उक्त तार स्थानीयतह हुनु पूर्व नै वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले न्वाघरीगाड लघु जलविद्युत आयोजनाका लागि आएको हो । उक्त जलविद्युत अहिले पूर्ण रूपमा बन्द भैसकेको छ । उक्त विद्युत् सञ्चालनका बखत प्रयोग भएका काठका खम्बाहरू पाँच वर्षमा कुहिएपछि तारको स्थानीयवासीले भाडाँकुडा बनाउनुका साथै खेतबारीमा प्रयोग गरेका हुन् ।
यसै गरी सिगार १ मा एक पक्की घर निर्माणाधीन अवस्थामा छ । स्थानीय लोकराज भट्टको उक्त घरमा पिल्लरको छडको सट्टा विद्युत्का खम्बाहरू प्रयोग गरिएका छन् भने, शौचालयको खाडलमा समेत विद्युत् खम्बाहरूको प्रयोग गरिएको छ । भट्टले शौचालयको खाडलमा विद्युत् पोलहरू तेर्साएर माटो हालेका छन् ।
२०७५मा स्थानीय तह र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा विद्युत् आयोजना निर्माण हुँदा उनी आफै उपभोक्ता समिति अध्यक्ष रहेकाले विद्युत् सामग्रीको दुरुपयोग गरेको स्थानीयको भनाई छ ।