स्थानीय तहको निर्वाचन : बझाङमा गठबन्धनभित्र अझै मिलेन भागबन्डा

बझाङ : स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा बझाङमा सत्तारुढ गठबन्धन दलका नेताहरू छलफलमा व्यस्त देखिएका छन् । निरन्तर छलफलमा भएपनि गठबन्धनभित्र सहमति भने जुट्न सकेको छैन ।
लगातारको छलफलले कुनै निश्कर्ष निकाल्न नसकेपछि कार्यकर्ता अलमलमा देखिएका छन् । यद्यपि उनीहरू कुन पार्टीले कुन स्थानीय तहको नेतृत्व पाउँला भन्ने हिसाबकिताबमा भने व्यस्त देखिन्छन् ।

गठबन्धनमा रहेका दलहरू आ–आफ्नो दाबीबाट लचिलो नबनेपछि दिनहुँ बसिरहेका बैठकले निष्कर्ष निकाल्न सकेका छैनन् । जिल्लास्तरमा गठबन्धनको भागबन्डा नमिलेपछि प्रदेशमा आ–आफ्नो दाबीसहितको निर्णय पठाउने तयारी गठबन्धनभित्र भइरहेको छ ।

बझाङमा गठबन्धनका लागि चार दल सहभागी छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा गठबन्धनमा रहेका हुन् । कांग्रेसले दुई नगरपालिकासहित आठवटा पालिकाको प्रमुख र ६० वटा वडाध्यक्ष पाउनुपर्ने दाबी गरिरहेको छ ।

बैठकमा माओवादी केन्द्रले एउटा नगरपालिकासहित चार पालिकाको प्रमुख पाउनुपर्ने दाबी पेस गरेको गठबन्धनका नेताहरूले बताएका छन् । एकीकृत समाजवादीले दुईवटा नगरपालिकासहित चार वटा पालिकाको नेतृत्वको माग दाबी गरेको बताइएको छ । जसपाले एक वडाध्यक्षको दाबी गरेको छ ।

दलहरूले आफ्नो अडान नछोडेपछि जिल्लामा गठबन्धनभित्र अहिले भागबण्डामा नै समस्या भएको छ । भागबन्डा नमिल्दा दलहरूको जिल्ला कमिटीले आ–आफ्नो निर्णय प्रदेश कमिटीमा पठाएको बताइएको छ । जिल्लास्तरका नेताहरू आफूले रोजेको पालिकामा नेतृत्व नपाए गठबन्धन हुन नसक्ने अभिव्यक्तिसमेत दिन थालेका छन् ।

गठबन्धनभित्र भागबन्डाको किचलो चलिरहेका बेला नेकपा एमालेले भने एक्लै चुनाव लड्ने घोषणा गरिसकेको छ । उसले जिल्लामा उम्मेदवार छनोट कामलाई पनि तीव्रता दिइरहेको छ । गठबन्धनले उम्मेदवार र पालिकाको भागबन्डालाई टुङ्गोमा पुर्याएपछि चुनावी रणनीति तयार पारिने एमाले बझाङले जनाएको छ । अहिले वडा र पालिकाको नेतृत्वका लागि छलफल भइरहेको एमाले बझाङका अध्यक्ष दमन भण्डारीले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.