कांग्रेसबाट गोदावरी नगरापालिकामा प्रमुखमा ९ जना, उपप्रमुखमा पाँच जनाको दावी
अत्तरिया : नेपाली कांग्रेसबाट गोदावरीको मेयरका लागि नौ जना आकांक्षी देखिएका छन्। २०७४ सालको निर्वाचनमा एमालेसँग झिनो मतले पराजित वीरेन्द्र भट्टसहित आठ जनाले दाबेदारी गरिरहेका हुन्। मेयरमा दाबेदारी गर्नेमा युवा नेता लोकराज पाण्डे ‘आगो’, सुरत कार्की, हेमप्रकाश उप्रेती, पुष्पराज जोशी, खेम साउद, तुलसी देवकोटा, ललित रोकाया, वीरबहादुर चोखाल रहेका छन्।
यस्तै उपमेयरमा पाँच जनाले दाबेदारी गरिरहेका छन्। उपमेयरमा भगवती पाठक, शारदा केसी, चन्द्रलक्ष्मी शाह, लक्ष्मी भट्ट र इन्द्रा कठायत रहेका छन्। मेयरका दाबेदार सुरत कार्कीले अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेस एमालेसँग झिनो मतले पराजित भएकाले गठबन्धनमा बलियो दाबेदार कांग्रेस भएको बताएका छन्।
ुएमालेले पाँच वर्षे कार्यकाल बिताए पनि केही गरेन। हामीले बाहिर रहेर नै नगरको विकासका लागि थुप्रै कार्यक्रम गरेका छौं। अघिल्लो पटक पनि हामी झिनो मतले पराजित भएका हौं। यस पटक स्वाभाविक रूपमा हाम्रो दाबेदारी रहन्छ। र, हामीले टिकट पाउँछौं पनि, उनले भने। उनले गठबन्धन भए पनि नभए पनि आफूहरूको लोकप्रियताले कांग्रेस एक्लैले पनि जित्ने अवस्था रहेको दाबी गरेका छन्। तर, केन्द्रको निर्णय अनुसार गठबन्धन भने रहने उनले बताए। उनले विभिन्न योजना बनाएर नै चुनावमा होमिएको बताएका छन्। कांग्रेसले विजयी भइसकेपछि आफ्ना बाचा पूरा गर्ने उनको दाबी छ।