कैलालीमा चुनावी गठबन्धन हुने सम्भावना न्यून छ : सभापति भट्ट
अत्तरिया : स्थानीय तह निर्वाचनमा कैलालीमा चार दलीय गठबन्धनबीच तालमेल हुने सम्भावना घटेको छ। शनिबार बसेको बैठकमा सबै दलले आ–आफ्नो अडान कायमै राखेपछि चुनावी तालमेल हुने सम्भावना घटेको हो।
गठबन्धनको बैठकमा नेपाली कांग्रेसले जिल्लाका १३ मध्ये ११, माओवादी केन्द्रले सात, एकीकृत समाजवादीले चार र जनमोर्चाले एक स्थानीय तहमा दाबी गरेका छन्। नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले भागबण्डामा सहमति हुन नसकेपछि चुनावी तालमेलको सम्भावना घटेको प्रतिक्रिया दिएका छन्। उनले अघिल्लो स्थानीय तहको निर्वाचनमा चार पालिका कांग्रेसले जितेको, दुई पालिका माओवादीले जितेको र बाँकी रहेका सात पालिकामा भागबन्डा हुनुपर्ने बताएका छन्।
‘नेपाली कांग्रेस ११ वटा स्थानीय तहमा एक्लै बलियो छ। गठबन्धनमा आवद्ध दलले कांग्रेसलाई दुई पालिका पनि दिन तयार छैनन्। यस्तो अवस्थामा गठबन्धन हुने सम्भावना न्यून रहेको छ। हामीले आज नयाँ मोडालिटीमा जान खोजेका छौं। त्यसमा पनि सहमति भएन भने हामी एक्लै चुनावमा जान्छौं,’ उनले भने। जिल्लामा सहमति नजुटे थप छलफलका लागि आफूहरूले नेपाली कांग्रेस प्रदेश समितिलाई आग्रह गर्ने बताए।