कञ्चनपुरमा पत्नी माइत बसेको झोंकमा आफ्नै खुट्टामा बञ्चरो प्रहार
कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ शान्तिपुर करिब ४० वर्षीय गणेश लुहारले आफ्नै खुट्टामा बञ्चरो प्रहार गरेका छन्। बञ्चरो प्रहारबाट लुहारको दायाँ खुट्टा गोलीगाँठाबाट छुट्टिएको छ।
उनले पत्नी माइत गएको झोँकमा आफ्नै खुट्टा छिनाएका छिमेकीहरुले बताएका छन्। इलाका प्रहरी कार्यालय झलारीका अनुसार आइतबार उनले छिमेकीको ट्युबवेलमा राखेर खुट्टोमाथि बञ्चरो प्रहार गरेका हुन्। आफ्नै खुट्टो छिनाउने लुहारलाई प्रहरीले तत्कालै काटिएको खुट्टासहित महाकाली अस्पताल महेन्द्रनगर लगेको छ। उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
उनको मानसिक स्थिति ठिक नभएको अनुमान प्रहरीले गरेको छ। पतिले दुःख दिएको भन्दै उनकी पत्नी धेरै दिनदेखि २ छोरीसहित माइतमा बस्दै आएकी छन्।