कैलाली थाकसका सभापति चौधरीको निधन
अत्तरिया : थारु कल्याणकारिणी सभा (थाकस) कैलालीका सभापति लाहुराम चौधरीको निधन भएको छ। बैशाख ३ गते धनगढीको ट्राफिक चौराहमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य प्रभात चौधरीले जानकारी दिए । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थिए। उनको टाउको, खुट्टा र आँखामा गम्भीर चोट लागेको थियो।
चौधरी थारु आन्दोलनका अगुवा नेता हुन् । ७२ साल भदौमा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनापछि उनी जेल परेका थिए । थरुहट आन्दोनलका क्रममा टीकापुरमा हिंसा भड्किँदा एक नाबालक र प्रहरी वरिष्ठ उपरीक्षकसहित आठ प्रहरीले ज्यान गुमाएका थिए ।
त्यतिबेला लाहुरामले थरुहट आन्दोलन धनगढीको नेतृत्व गरेका थिए । टीकापुरमा घटना भएका दिन धनगढीको आन्दोलन हाँकिरहेका चौधरीले स्थानीय रेडियोमा टीकापुर घटनाको जिम्मेवारी आफूहरूले लिने बताएपछि प्रहरीले उनलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । उनी तीन वर्ष जेल बसेर पछि रिहा भएका थिए ।