गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

धनगढी,८ वैशाख : कैलालीको गोदावरी नगरपालिकाका सातजना कर्मचारीसहितको मिलोमतोमा झण्डै तीन करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

आयोगले बिहीबार सातजना कर्मचारीविरुद्ध काठमाडौंस्थित विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो । गैरकानूनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । कर्मचारी र ठेक्केदारले गुणस्तरहीन कार्य गरी बढी भुक्तानी लिएको ठहर आयोगको छ ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार, गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्ट र देवराज जोशी तथा इन्जिनियर, सव–इन्जिनियरसमेत सातजना उपर गैरकानूनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेकोसम्बन्धी आरोप–पत्र दायर गरिएको छ ।

आयोगले तत्कालीन प्रशासकीय अधिकृत खेमराज भट्टविरुद्ध ३१ लाख ३७ हजार ८५३ रुपैयाँ बिगो कायम गरी मुद्दा दर्ता गरेको छ । यसैगरी, सोही नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज जोशी २५ लाख ५२ हजार ८८६ रुपैयाँ, तत्कालीन इन्जिनियर पूर्ण कुँवरले ५६ लाख ९० हजार ७४०, तत्कालीन सब इन्जिनियर ज्ञानेन्द्र बुढा ४३ लाख १७ हजार ६६६ र तत्कालीन सब इन्जिनियर नरेन्द्र शाहीले १२ लाख २४ हजार ४५९ रुपैयाँ आर्थिक हिनामिना गरेको अभियोग लगाइएको छ ।

यसैगरी, प्राविधिक पूर्वाधार कार्यालयमा कार्यरत ल्याब टेक्निसियन धनबहादुर बिष्टले ५३ लाख ५१ हजार २३४ हानि नोक्सानी गरेको र निर्माण व्यवसायी गणेश विष्टले ५० लाख ३१ हजार ५४ रुपैयाँ हिनामिना गरेको आयोगको दाबी छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.