धनगढी–४ काँग्रेसको विद्रोह : असन्तुष्टले दिए क्रियाशील सदस्यबाट राजीनामा

धनगढी, १५ बैशाख : नेपाली काँग्रेस धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा विवाद देखिएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा टिकट वितरण एकहोरो ढंगले गरेको भन्दै ५८ जना क्रियाशील सदस्यहरुले बिहिबार पत्रकार सम्मेलन गरी राजीनामा दिएका छन् । ‘धनगढी उपमहानगरपालिका वडा नं ४ मा नेपाली कांग्रेसबाट ११ जना अध्यक्ष पदका लागि तथा २२ जना सदस्य पदका लागि उम्मेदवारी दाबी गरिएको थियो’, पत्रकार सम्मेलनमा वडा नम्बर ४ का निर्वतमान वडा अध्यक्ष दिपककुमार थापा क्षेत्रीले भने । ‘कसैसंग पनि छलफल नगरी बडा कार्य समितिले ३ जना अध्यक्ष पदका आकांक्षको नाम सिफारिस गर्यो ।’
पार्टीको विधान विपरित २०७४ निर्वाचनमा पार्टीको आधिकारीक उम्मेदवारका विरुद्ध बागी भई कारवाहीको सिफारिसमा परेको व्यक्तिलाई टिकट दिएकोप्रति आपति रहेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
काँग्रेस वडा नम्बर ४ बाट बुद्धि खड्कालाई उम्मेदवारी दिएको छ । उक्त पार्टीले कारवाही गरेको व्यक्तिको टिकट रोक्न ९९ जना क्रियाशील सदस्याहरुको हस्ताक्षर सहित अगाडि नबढाउने जिल्ला कार्य समितिको ध्यानाकर्षण गर्दा पनि वेवास्ता गरिएको असन्तुष्टहरुले जनाएको छन् ।
वडाका क्रियाशील सदस्यहरूको मर्म तथा भावना नबझेर नै उम्मेदवारी छनोट गरेको भन्दै असन्तुष्टि रहेको उनीहरुले बताएका छन् । टिकट वितरण गर्ने निकायले सदस्य पदको निर्णयमा समेत धाधली गरेको उनीहरुको आरोप रहेको छ । क्षेत्रिय कार्यसमितिले गरेको निर्णयमा टिकट दिने निकायले टिकट पाएका व्यक्तिहरुको नाममाथि समेत टिपेक्स लगाई आफु अनुकुलका अन्य सदस्यको नाम उल्लेख गरेको उनीहरुकोले आरोप लगाएका छन् ।
वडाको टिकट दिने प्रक्रियामा भूगोल, क्षेत्र, योगदान मूल्यांकनै नगरी हस्तक्षेप भएको वडा नम्बर ४ का पुर्व काँग्रेस वडा सभापति अनन्तराज जोशीले बताए । एकलौटी ढंगले गरेको निर्णयले तथा पार्टीले गर्ने विभेदपूर्ण व्यवहारबाट पीडित पार्टीका ईमान्दार, क्रियाशील एवम् सक्रिय कार्यकर्ताहरुले मनोभावनामा आच पुगेको उनले बताए । असन्तुष्ट समुहले आसन्न निर्वाचनमा स्वतन्त्र ढंगले मतदान गर्ने जनाएका छन् । वडा बाट ९९ जना असन्तुष्टहरुको हष्ताक्षर सहित जिल्ला सभापतिलाई बुझाउने उनीहरुले जनाएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.