५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उजुरी
बझाङ : ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा छबीसपाथिभेरा गाउँपालिकाका २२ वर्षीय एक युवकविरुद्ध जिल्ला प्रहरी कार्यालय बझाङमा वैशाख १७ गते उजुरी दर्ता गरिएको छ। पीडित बालिकालाई आरोपितले मामाघरमा विवाह हेर्न गएका वेला विवाह भएको स्थानबाट ५ सय मिटर टाढा रहेको छानामा लिएर २०७९ वैशाख १६ गते बलात्कार गरेको पीडितपक्षका तर्फबाट दर्ता गराइएको उजुरीमा उल्लेख गरिएको छ।
बुवासँग विवाह हेर्न मामाघर गएकी बालिकालाई चकलेट किनिदिने भनेर आरोपितले लगेपछि साँझ बालिका घर फर्केको र बिहान हेर्दा पीडित बालिकाको लुगामा रगत लतपतिएको देखेपछि के भएको भनेर सोध्दा बालिकाले सबै कुरा बताएको पीडितका बुवाले बताए। बालिकाको वैशाख १७ गते जिल्ला अस्पताल सीमखेतमा स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका इन्स्पेक्टर रमेश अवस्थीले जानकारी दिए।
मामाघरमा विवाह हेर्न गएकी बालिका सहित उनका अभिभावकले वैशाख १७ गते जिल्ला प्रहरी कार्यालय बझाङमा पुगी उजुरी दर्ता गरी कारबाहीको माग गरेका थिए। आरोपित सोही दिनबाट फरार रहेको र पीडितको उजुरीका आधारमा आरोपितको खोजी कार्य समेत भइरहेको इन्स्पेक्टर अवस्थीले बताए।