संविधानकै रक्षाका लागि गठबन्धन गरिएको हो : आरजु
धनगढी : नेपाली काँग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले संविधानकै रक्षाका लागि तीन तहमा गठबन्धन गरिएको बताएकी छिन ।
सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पाँच दलीय गठबन्धन कुनै व्यक्तिको हित रक्षाका लागि नभएर यसअघिको सरकारका असंवैधानिक र अलोकतान्त्रिक क्रियाकलापलाई सच्याउन विभिन्न विचारका दलबीचको सहकार्य भएको बताइन् ।
उनले भनिन्, ‘यो गठबन्धन विभिन्न विचारधाराका दलहरूको साझा घरजस्तै बनेको छ । यो नेपाली जनता र राष्ट्रको उज्ज्वल भविष्य सुनिश्चितताका लागि बनेको हो ।’
बितेको पाँच वर्षको उत्कृष्ट कार्यका कारण धनगढी उपमहानगरपालिका समृद्धिको तर्खरमा रहेको बताएकी छिन् ।
नेतृ देउवाले निवर्तमान नगर प्रमुख नृपबहादुर वड र उनको टिमले पाँच वर्षको अवधिमा गरेका कार्यले धनगढी मुलुकको सबैभन्दा उत्कृष्ट पालिका बन्न सफल भएको बताइन् ।
‘हाम्रोजस्तो जातीय विभेदले जकडिएको समाजमा दलित समुदायको प्रतिनिधिका रूपमा उपमहानगरपालिकाको प्रमुख बन्ने विषय आफैँमा महत्त्वपूर्ण हो, उनले भनिन्, ‘धनगढी उपमहानगरपालिकामा दलित समुदायको प्रमुख बन्ने विषय सामाजिक रुपान्तरण र हरेक दृष्टिले पछाडि पारिएका वर्ग–समुदायको अधिकार रक्षाको द्योतक पनि हो ।’
उनले कोरोना महामारीका बेला भारत तथा अन्य मुलुकबाट गौरीफन्टा नाका भएर स्वदेश फर्किएका पौने दुई लाखभन्दा बढी नेपालीको व्यवस्थापन गरेर सबैलाई सुरक्षित आ–आफ्नो घर पुग्ने व्यवस्था, घुम्ती शिविरमार्फत् घर–टोलमा स्वाब संकलन, हजारौं व्यक्तिका लागि क्यारेन्टिन व्यवस्थापन निकै उल्लेख्य कार्य भएको चर्चा गरिन् ।