३५३ जना निर्विरोध निर्वाचित, कुन दलका कति ?
काठमाडौँ : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका ३५३ जना निर्विरोध निर्वाचित भएका छन्। निर्विरोध निर्वाचित भएकामध्ये नेकपा एमालेबाट १२३ जना, नेपाली कांग्रेसबाट १०१ जना, नेकपा माओवादी केन्द्रबाट ६३ जना, नेकपा एकीकृत समाजवादीबाट ३३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ। अन्य स्वतन्त्र तथा अन्य दलहरुबाट निर्विरोध निर्वाचित छन्।
आयोगका अनुसार एमालेबाट गाउँपालिका अध्यक्षमा एक जना, उपाध्यक्षमा दुई जना, वडाध्यक्षमा १४ जना, खुला सदस्यमा २६ जना, महिला सदस्यमा २३ जना र दलित महिला सदस्यमा ५७ जना निर्विरोध निर्वाचित भएका छन्। यस्तै नेपाली कांग्रेसबाट गाउँपालिका उपाध्यक्षमा एक जना, वडाध्यक्षमा १४ जना, खुला सदस्यमा ३१ जना, महिला सदस्यमा १५ जना र दलित महिला सदस्यमा ४० जना निर्विरोध निर्वाचित भएका छन्।
यसैगरी नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा तीन जना, खुला सदस्यमा पाँच जना, महिला सदस्यमा १५ जना र दलित महिला सदस्यमा ४० जना निर्वाचित भएका छन्। एकीकृत समाजवादीबाट गाउँपालिका अध्यक्षमा दुई जना, वडाध्यक्षमा ६ जना, खुला सदस्यमा १२ जना, महिला सदस्यमा ७ र दलित महिला सदस्यमा ६ जना निर्विरोध निर्वाचित भएका आयोगले जानकारी दिएको छ।