चाउचाउ किनिदिने लोभ देखाएर पाँच वर्षीया बालिका बलात्कार गर्ने पक्राउ
बझाङ : बझाङमा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । छबिसपाथिभेरा गाउँपालिकाका ती युवकले मदिरा सेवन गरी बालिकालाई बलात्कार गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् । १६ वैशाखमा आफ्ना बुवासँग बिहे हेर्न मामाघर गएकी ती बालिकालाई युवकले बलात्कार गरेको प्रहरी समक्ष स्वीकार गरेका हुन् ।
पीडितका बुवासँगै बिहे भोजमा मदिरा सेवन गरेका युवकले बालिकालाई चाउचाउ किनिदिने लोभ देखाएर नजिकै रहेको आफ्नै गोठमा लगेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयको अनुसन्धानबाट खुलेको छ ।
घटनापछि फरार अभियुक्तलाई १९ गते साँझ थलारा गाउँपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले बताए । बलात्कृत बालिकामा शारीरिक र मानसिक समस्या आएपछि उनको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको उनले बताए ।