भीमदत्तमा माओवादी र एमालेका कार्यकर्ता बीच कुटाकुट

कञ्चनपुर : कञ्चनपुरमा नेकपा माओवादी केन्द्रका कार्यकर्ता कुटपिटमा उत्रिएका छन् । चुनावको मुखैमा माओवादी कार्यकर्ताले नेकपा एमाले भीमदत्त नगरपालिका –१९ बागफाँटाका कार्यकर्ता अञ्जु चौधरी र राजेन्द्रप्रसाद अवस्थीमाथी कुटपिट गरेका छन् । कुटपिटमा परेका अञ्जुको टाउको र छातीमा चोट लागेको छ भने अवस्थीको पनि छातीमा चोट लागेको छ ।

नेकपा एमाले कञ्चनपुरका अनुसार घाइतेहरुलाई महाकाली अस्पतालमा भर्ना गरिएको छ । बुधबार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बागफाँटामा संयुक्त र्‍याली निकालेको थियो ।
माओवादी केन्द्रका वीरेन्द्र चन्द र रघुवीर धामीलगायतको समुहले कुटपिट गरेको भन्दै एमालेले प्रहरीमा उजुरी दिएको एमालेका जिल्ला उपसचिव कर्णबहादुर चन्दले बताए । उनले भने ‘कुटपिट गर्नेहरुलाई कारबाहीको माग गर्दै निवदेन दिएका छौं, घाइतेहरुलाई महाकाली अस्पतालमा भर्ना गरेका छौं,’ उनले भने । बागफाँटा प्रहरी चौकीका इन्चार्ज वीरेन्द्र पुजराले एमाले र माओवादी कार्यकर्ताबीच सामान्य विवाद भएको बताए ।

‘आज बागफाँटामा माओवादीको र्‍याली थियो, त्यो र्‍यालीमा एमालेका कार्यकर्ता पुगेछन्,’ उनले भने, ‘हाम्रो र्‍यालीमा किन आएको भनेपछि विवाद भएको रहेछ ।’ घटनाको विषयमा दुबै पक्षबाट उजुरी आएको भन्दै उनले बोलाएर छलफल गर्ने बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.