स्थानीय निर्वाचन २०७९ : गोदावरीमा द्विपक्षीय प्रतिस्पर्धा

अत्तरिया : सुदूरपश्चिमको स्थायी राजधानी घोषित गोदावरी नगरपालिकाको मेयर पदका लागि ९ जना चुनावी मैदानमा छन् । चुनाव आउन ८ दिन मात्र बाँकी रहेको अवस्थामा गोदावरीका प्रत्येक वडामा वडाध्यक्ष सहित पाँच जना, नगर प्रमुख र उपप्रमुख गरी ६२ जना जनप्रतिनिधिका लागि वैशाख ३० मा निर्वाचन हुँदैछ । नगर प्रमुखका लागि ९ जना चुनावी मैदानमा भए पनि मुख्य प्रतिस्पर्धी नेपाली काँग्रेसको तर्फबाट गठबन्धन दलका उम्मेद्वार बीरेन्द्र भट्ट र नेकपा एमालेका बीच कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । अहिलेका प्रतिस्पर्धी दुवै जना ०७४ को निर्वाचनमा पनि चुनावी मैदानमा थिए ।
एमाले उम्मेदवारलाई जिताउने नेता लेखराज भट्ट कस्सीएका छन् । एमालेको उम्मेदवार गोकर्ण लेखराज को भाई हुन् । उनी २०७४ को निर्वाचनमा पनि तत्कालिन नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिस्पर्धामा थिए । त्यति वेला गोकर्ण भट्ट तेस्रो भएका थिए । उनले ६ हजार ४८१ मत ल्याएका थिए । माओवादीबाट एमाले प्रवेश गर्दे गोकर्ण भट्ट फेरि उम्मेदवार बनेका हुन् । ०७४ सालको निर्वाचनमा गोदावरीमा एमालेका हरिसिंह साउद ९ हजार ८ सय ७० मत प्राप्त गर्दै विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वीरेन्द्र भट्टले ८ हजार ४ सय ५७ मत पाएका थिए । काँग्रेसको राम्रो प्रभाव मानिएको गोदावरीमा २०७४ को निर्वाचनमा भएको गल्तिलाई सच्याउदैँ अहिले सम्पूर्ण एक भएर चुनावी प्रचारमा रहेका छन् ।
गठबन्धनको तर्फबाट मेयरका प्रत्यासी उम्मेदवार वीरेन्द्र भट्टले सबै समुदायको प्रतिनिधित्व हुने गरि नगर विकासको काम गर्ने प्रतिबद्धता गरेका छन् । उनले भने, ‘म पनि कोभिडबाट पीडित भएको मान्छे हो । सबै समुदायको प्रतिनिधित्व गर्ने गरी नगरलाई अगाडि बढाउनेछु । सबैको नेतृत्व हुने गरि विकास निर्माणका काम अगाडि बढाउनेछु ।’ उनले यस पटक गोदावरीमा काँगेस वाहेक अरु कसैले पनि जित्न नसक्ने बताए । ‘काँग्रेसको जित ०७४ मै भएको हो’, उनले भने । ‘त्यतिवेला पार्टीको केहि कमजोरीले गर्दा झिनोमतान्तरले हार्नु परेको हो । अहिले त्यस्तो हुँदैन् । सम्पूर्ण काँग्रेस एक भएर चुनावी प्रचारमा रहेको छ । अहिले जित पक्का छ ।’
गोदावरीमा गठबन्धनमा काँग्रेसको मेयर भाग परेको हो भने उप मेयरमा नेकपा एकीकृत समाजवादीको भागमा रहेको छ । समाजवादीको तर्फबाट रत्ना कडायत उपमेयरको उम्मेदवार रहेकी छन् । उनी निवर्तमान उपमयर समेत हुन् । यस अघि नेकपा एमालेबाट निर्वाचित भएकी थिईन् ।

विरासत जोगाउने दाउमा एमाले, कांग्रेसको पनि आफ्नै दाबी

यस्तै, एमालेबाट मेयरका पत्यासी गोकर्ण भट्टले पनि आफ्नो जित सुनिश्चित भएको बताएका छन् । ‘सबै वडामा पार्टीको संघसंगठनहरु प्रचारमा लागिका छन् । दुई पार्टी एक भएको हुँदा एमालेको जित हुने निश्चित छ ।’ एमालेबाट मेयरका उम्मेदवार गोकर्ण भट्टले जनताको घरदैलोमा रहेको बताए । ‘मैले गोदावरीलाई नयाँ परिवर्तनको प्रत्याभुती गराउनेछु’, उनले भने, ‘शिक्षा, स्वास्थ्य, रोजगार जनताका आधारभूत विषयमा प्रतिवद्धता गर्दै आएको छु ।’
गोदावरी नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रबाट विक्रम विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुर्गाकुमार पोखरेल, लोकतान्त्रीक समाजवादीबाट फकलु चौधरी, राष्ट्रिय जनमुक्तीबाट रामबहादुर रावल, राष्ट्रिज जनमोर्चाबाट हरिकृष्ण पाण्डे तथा स्वतन्त्रमा टेकबहादुर विक र मिने मल्लेले उम्मेवदारी दिएका छन् । माओवादीको तर्फबाट उम्मेदवारी दिएका विश्कर्मालाई पार्टीले फिर्ता बोलाउने निर्णय गरेको थियो । पार्टीले फिर्ता आउने निर्णय गरेको भए पनि उनी मौन बसेका छन् । फिर्ता भने आएका छैनन् ।
राष्ट्रिय जनमोर्चाबाट नगर प्रमुखका उम्मेदवार हरिकृष्ण पाण्डेले नेतृत्व राम्रो भए परिवर्तन सम्भव रहेको बताए । उनले भने, ‘गोदावरी नगरपालिकामा भ्रष्टाचार छ । ८ जना अहिले पनि सस्पेन्सनमा छन् । मेरो २ मात्र एजेन्डा छ । पहिलो आर्थिक पारदर्शिता र दोस्रो सुशासन हो ।’
यस्तै, नगर उपप्रमुखका लागि राष्ट्रिय जनमोर्चाबाट कल्पना बराल, राप्रपाबाट खिमावेदी विष्ट, माओवादी केन्द्रबाट रिता खड्का र एमालेबाट शारदादेवी रोकाया चुनावी मैदानमा छन् । गोदावरी नगरपालिकामा १२ वटा वडा छन् । उपमेयरमा पनि माओवादीको फिर्ता लिने निर्णय गरेको छ । उनी पनि मौन छन् ।
गोदावरीमा प्रमुखका लागि ९, उपप्रमुखका लागि पाँच सहित २ सय ९० जना उम्मेदवारको अन्तिम नामावली निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको सहायक निर्वाचन अधिकृत शिवराज भाटले बताए ।
उनले भने, ‘तीन सय १६ जनाले मनोनयन दर्ता गर्न आएका थिए । जाँच गर्दा तीन सय ७ जना रहे नौ जनाको बदर भयो । १७ जनाले नाम फिर्ता लिए । २ सय ९० जनाको अन्तिम उम्मेदवारी सार्वजनिक गरिएको छ । २० जना स्वतन्त्र हुन भने अन्य दलगत रुपमा चुनाव लड्दैछन् ।’
उम्मेदवारहरु कार्यकर्ता तथा सहयोगीको साथमा जनताको घर–दैलोमा पुग्न थालेका छन् । उनीहरु नगरको विकास निर्माण, सुशासन, राजनीतिक एजेन्डा सहित भोट मागिरहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.