कर्ण मल्लको चुनौती– ‘देउवाको आमसभामा १० मिनट मात्र बोल्न देउ’
डडेल्धुरा : डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकाका उम्मेदवारले स्थानीय निर्वाचनमा नागरिकसँग करारनामा गरेका छन् । नेपाली कांग्रेस बीपी र नेकपा एमालेले शुक्रबार जिल्ला सदरमुकाम बसपार्कमा आयोजना गरेको ‘जनतामा निवेदन’ कार्यक्रममा यही बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनको सन्दर्भमा अमरगढी नगरपालिकाका ११ वटै वडाका वडाध्यक्षसहित नगरप्रमुख र उपप्रमुखका उम्मेदवारलाई सामूहिक प्रतिबद्धतास्वरुपसात मुख्य र पाँच सहायक बुँदा वाचन गरी उपस्थित नागरिकहरूका सामु करारनामा गरिएको हो ।
नेपाली कांग्रेस बीपी र नेकपा एमालेबीच चुनावी सहकार्य गरेको जनतामा निवेदन संयुक्त चुनावी वृहत कार्यक्रममा आफूहरुले जनतामा कबोल गरेका लिखित मौखिक प्रतिबद्धताको सारसंक्षेपको रुपमा पदीय जिम्मेवारीमा रहेर संकल्पअनुसार मात्र काम गर्ने र भूमिका निर्वाह गर्ने करारनामामा उल्लेख गरिएको छ ।
करारनामामा जनताको भावनाअनुसार काम गर्ने, अनियमितता नगर्ने, व्यक्तिगत स्वार्थका लागि गलत कदम नचाल्ने, श्रोत–साधनको अपचलन र राज्यलाई नोक्सान हुने काम नगर्ने, पद बहाली भएसँगै र कार्यकालको सम्पति विवरण सार्वजनिक गर्ने, नियमित सार्वजनिक सुनुवाइ र अद्यावधिक प्रक्रियालाई प्रभावकारी बनाउने, नगरको आवश्यकतालाई प्राथमिकताका आधारमा बजेट तर्जुमा गरिने लगायतका विषयमा मन, बचन र कर्मले कार्यान्वयन गर्न हस्ताक्षर गरि सार्वजनिक गरिएको छ ।
जनतामा निवेदन कार्यक्रममा नेकपा एमाले डडेल्धुराका जिल्ला अध्यक्ष प्रकाशबहादुर साउँद, नेपाली कांग्रेस बीपी डडेल्धुराका सभापति तथा केन्द्रीय सदस्य तिलक हमाल, नगरप्रमुखका उम्मेदवार हरिप्रसाद भट्ट, उपप्रमुखका उम्मेदवार यज्ञराज अवस्थी र नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति कर्णबहादुर मल्ल लगायतले अन्यायविरुद्धको संघर्ष तथा सामाजिक साँस्कृतिक विकासका लागि चुनावी समिकरण आवश्यक भएकोले समग्र अमरगढीको परिवर्तनका लागि जनतामा निवेदन गरिएको बताए ।
कार्यक्रममा अमरगढीका जनतामा निवेदन गर्दै कांग्रेस डडेल्धुराका निवर्तमान सभापति मल्लले यही वैशाख २७ गते डडेल्धुराको बसपार्कमा हुन गइरहेको चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम दौडाहामा रहेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला आउने कार्यक्रममा प्रधानमन्त्रीसँग १० मिनेट साक्षात्कार गर्ने इच्छा व्यक्त गरे । आफूले सो चुनावी आमसभामा १० मिनेट मात्र बोल्ने र पार्टीमा गरेका हिसाबकिताब राख्ने रहर भएको उनको भनाइ थियो ।
‘हिम्मत छ भने मलाई २७ गते हुने देउवादाइको आमसभामा १० मिनेट बोल्न दिनु’- उनले भने । ‘देउवादाइको अगाडी कांग्रेस विद्रोही हरि भट्टका तर्फबाट म आफ्ना कुरा राख्नेछु । २०६७ सालअगाडि के गर्नुभयो र २०६७ सालपछि म डडेल्धुराको नेतृत्वमा आएपछि के(के काम गरेँ सबै भन्नेछु’ भन्दै नेता मल्लले देउवाले आफूमाथि कुनै लगानी नगरेको जिकिर गरे ।