गेटा मेडिकल कलेज नीति तथा कार्यक्रममा नसमेटिएपछि अत्तरियामा विरोध
अत्तरिया : कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज सरकारको नीति तथा कार्यक्रममा नसमेटिएपछि विरोध सुरू भएको छ । ९० प्रतिशत भौतिक पूर्वाधार तयार भइसकेको उक्त मेडिकल कलेजलाई सरकारले बेवास्ता गरेको भन्दै सुदूरपश्चिमबासी आन्दोलित भएका हुन् । मेडिकलेज बन्नुपर्ने माग गर्दै संघर्ष समिति गठन गरेका छन् । यद्यपि प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्ने योजना नीति तथा कार्यक्रममा समेटिएको छ ।
गेटा मेडिकल कलेजको २०७३÷०७४ सालबाट निर्माण थालिएकोमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएपनि सञ्चालनमा आउन सकेको छैन । मेडिकल कलेज नीती तथा कार्यक्रममा नसमेटिएपछि आन्दोलनका लागि संघर्षका कार्यक्रम गरिने काँग्रेस युवा नेता लोकराज पाण्डे ‘आगो’ले बताए । युबा नेता लोकराज पाण्डेको संयोजकत्वमा ३५ सदस्ययी संयुक्त संघर्ष समिती गठन गरिएको छ । समितीले यथाशीघ्र गेटा मेडिकल कलेज सन्चालन गर्नु पर्ने माग गरेको छ ।
समितीका संयोजक पाण्डेले सरकारले जनतालाई फेरी एक पटक ढाँटन खोजेकाले दबाब दिनु परेको बताए । सरकारले मंगलबार सदनमा प्रस्तुत गरेको निती तथा कार्यक्रममा गेटा मेडिकल कलेज सन्चालनको बिषय कतै पनि नआएको भन्दै यस क्षेत्रका नागरिकहरु पनि असन्तुष्ट बन्दै आएका छन ।
गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै कैलालीको अत्तरियामा चक्काजाम गरिएको छ । अत्तरियामा स्वस्फूर्त युवाहरूको समूहले चक्काजाम गरेका हुन् । उनीहरुले करिब एक घण्टा चक्काजाम गरे । सञ्चालनको पर्खाइमा रहेको गेटा मेडिकल कलेजलाई सरकारले वेवास्ता गरिएको उनीहरुको भनाइ छ । मेडिकल सञ्चालनको दवावका लागि गोदावरीका मेयर विरेन्द्र भट्ट बुधबार काठमाण्डौँ गएका छन् ।
