धनगढीमा गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै हस्ताक्षर संकलन
धनगढी : नेपाल सरकारले मंगलबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा गेटा मेडिकल नसमेटिएको भन्दै स्थानीय आन्दोलित बनेका छन् । उनीहरूले सरकारविरुद्ध चरणवद्ध रुपमा आन्दोलन गरिरहेका छन् । धनगढी र अत्तरियाका स्थानीयले स्वस्फूर्त रुपमा छुट्टाछुट्टै आन्दोलन गरिरहेका हुन् । मेडिकल कलेज सञ्चालनका लागि भौतिक संरचना तयार रहे पनि नीति तथा कार्यक्रममा समावेश नभएको भन्दै सुदूरपश्चिमवासी आन्दोलित बनेका हुन् ।
अत्तरियामा लोकराज पाण्डे (आगो)को संयोजकमा युवाहरू आन्दोलित बनेका छन् । धनगढीमा संयुक्त नागरिक आन्दोलनको नाममा विरोध भइरहेको छ । आज बिहानैबाट धनगढीमा तीन स्थानमा गेटा मेडिकल सञ्चालनको पक्षमा हस्ताक्षर संकलन थालिएको नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले बताए । ’हामीले बिहान धनगढीका तीन स्थानमा हस्ताक्षर संकलन गरिरहेका छौं। हाम्रो एउटै माग छ, गेटा मेडिकल कलेजमा स्वास्थ्य सेवासहित पठनपाठनको व्यवस्था हुनुपर्छ,’ उनले भने, ’हस्ताक्षर संकलनपछि हामीले प्रधानमन्त्री, अर्थमन्त्री र स्वास्थ्यमन्त्रीलाई उक्त हस्ताक्षर पठाउने छौं ।’
शुक्रबार बिहान ८ देखि १० बजेसम्म गेटा मेडिकल कलेजमा पुगेर प्लेकार्डसहित धर्ना दिइने र शनिबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिइने उनले बताए । त्यति गर्दा पनि आफूहरूको एक बुँदे माग सुनुवाइ नभए आइतबारबाट रिले अनसन थालिने सुनारले जानकारी दिए ।