तारा एयरको विमान दुर्घटना : १४ जनाको शव भेटियो, सुदूरपश्चिमका २ जना
अत्तरिया : दुर्घटनाग्रस्त तारा एयरमा सवार १४ जनाको शव भेटिएको छ । नागरिक उड्ययन प्राधिकरणका अनुसार उनीहरुको पहिचान हुन भने बाँकी छ ।
अरुको खोजी भइरहेको छ । आइतबार विहान पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको थियो । तीन चालक दलका सदस्यसहित २२ जना सवार तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा भेटिएको छ ।
तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव सिधै काठमाडौं लगिने भएको छ। मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरे भन्ने भिरमा जहाज दुर्घटना भएको अवस्थामा आज बिहान भेटिएको थियो।
अहिले त्यहाँ सेना र स्थानीयको टोलीले शव संकलन गरिरहेका छन्। उक्त विमानमा धनगढीका दुई जना पनि सवार रहेको पाइएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फुलबारीका पुरुषोत्तम गोले र उनकी श्रीमती इन्द्रदेवी तामाङ विमानमा सवार रहेको पुष्टि भएको हो। उनीहरु गलैचा उद्योग सञ्चालन गरी काठमाडौं बस्दै आएका थिए।