धनगढी, २३ जेठ : कैलालीको घोडाघोडी नगरपालिकामा १ महिलालाई आक्रमण गर्ने घाइते चितुवालाई नियन्त्रणमा लिएको छ। बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले आक्रमण गर्ने घाइते चितुवालाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय पहलमानपुरका गोकुल रिजालले बताए ।
चितुवाको खुट्टामा चोट र ढाडमा दुई वटा गोली लागेको र उपचार, पुनः स्थापनाका लागि बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको रिजालले जानकारी दिए ।
सोमबार बिहान लठुवा सामुदायिक वनमा घाँस काट्ने क्रममा वडा नं. ८ लठुवाकी ५४ वर्षीया बिस्णा बोहरा चितुवाले आक्रमण गरी घाइते बनाएको थियो । उनलाई मुख, हात र टाउकोमा चोट लागेको थियो । बोहराको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ ।