डडेल्धुरामा खोलाले बगाएर बालकको मृत्यु
डडेल्धुरा : डडेल्धुरामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा परशुराम नगरपालिका–११ कटौजाका केशव बोहराका ५ वर्षीय छोरा निराजन रहेका छन्। पशुपतिनाथ आधारभूत विद्यालय ज्यामिरखालीबाट मंगलबार दिउँसो घर जाने क्रममा पातलीको ठूलो खोलाले बगाउँदा उनको मृत्यु भएको सोही विद्यालयका प्रधानाध्यापक हरिदत्त जोशीले जानकारी दिए।
बगेको ठाउँबाट ५०र६० मिटर तल निराजनको शव फेला गरेको उनले बताए। मृतक निराजन कक्षा १ मा अध्ययनरत थिए। प्रअ जोशीका अनुसार खोलाले बगाउँदा अन्य २ विद्यार्थी घाइते भएका छन्।
घाइते हुनेमा सोही ठाउँका अन्दाजी १५ वर्षीय रेशम साउद र १४ वर्षीय गोपाल साउद रहेका छन्। रेशम र गोपाल कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुन्। रेशमको अवस्था गम्भीर रहेको प्रअ जोशीले बताए।
‘विद्यालय छुट्टी भइसकेपछि घर जाने क्रममा तीनैजनालाई खोलाले बगाएको हो,’ प्रअ जोशीले भने, ‘गोपालले निराजनलाई बोकेर खोला तरिरहेको रहेछ। त्यहीवेला माथिबाट खोला बढेर आएपछि बगाएछ। दुई विद्यार्थी बाँच्न सफल भए।’