अग्नी संवाददाता
अत्तरिया, १ साउन : गोदावरी नगरपालिकाका सबै वडालाई विरुवा वितरण गरेको छ । नगरका १२ वटै वडालाई फलफुलका विरुवाहरु वितरण गरिएको हो । नगरपालिकाको १२ वटै वडाहरुमा १ हजार वटा बोटका दरले विरुवाहरु वितरण गरेको छ । आईतबार नगरको वडा नं. १, २, ४, ५, ६, ७, ८ र ९ नम्बर वडामा विरुवाहरु वितरण गरिएको हो । यी वडामा ८ हजार ५ सय विरुवा वितरण गरेको छ ।
विरुवा एक कार्यक्रमका बीच गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले नेपाली कांग्रेसका वडा नं. १ का वडासभापति शिवराज जोशीलाई विरुवा हस्तान्तरण गरेर वडामा विरुवा वितरण कार्यक्रमको सुरुवात गरेका हुन ।
विरुवा हस्तान्तरण कार्यक्रममा मेयर भट्टले स्थानीय तहको निर्वाचन भन्दा अगाडि नै घोषणा गरिएको कांग्रेसले पाएको भोट बराबर बोट वितरण गर्ने योजना अनुसार विरुवाहरु वितरण गरिएको बताए । उनले नगरका सबै घरहरुमा एक÷एक बोट वितरण गर्ने लक्ष्य रहेको बताए ।
उनले बोटविरुवाको वृक्षारोपणले नै मानिसलाई स्वस्थ राख्नमा मद्दत गर्ने उनले बताए । यसका साथै बोटविरुवाको वृक्षारोपणले नगरलाई हरियाली बनाउनमा सहयोग पुग्ने उनले बताए । ‘भोट बराबरको बोट’ अभियान अहिले कांग्रेसले सञ्चालन गरेपनि आगामी दिनहरुमा नगरलाई सुन्दर र हरियाली बनाउन उक्त अभियान नगरले सञ्चालन गर्ने उनले बताए । उनले उक्त अभियानमा सहयोग गर्ने कांग्रेसका क्षेत्र नं. ४ का क्षेत्रिय सभापति बसन्त रोकाया, गोदावरी नगरसभापति विर बहादुर चोखाल, कांग्रेसका युवा नेता लोक राज पाण्डेय (आगो) लगायतलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा कांग्रेसका जिल्ला सदस्य प्रेम भट्टले स्थानीय तहको निर्वाचन अघि घोषणा गरेबमोजिम विभिन्न प्रजातीका विरुवाहरु वितरण गरिएको बताए । उनले केही दिन अघि मात्रै आफुले ३ हजार भन्दा बढी बोटहरु वितरण गरेको बताए । उनले नगरलाई ग्रिन नगरपालिकाका रुपमा चिनाउन उक्त अभियानले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए ।