धनगढी : स्मार्ट सहरको आधारभूत संरचनाका रूपमा रहेको स्मार्ट होम (घर) लागि आवश्यक पूर्वाधारहरू सुदूरपश्चिमाञ्चल एकेडेमी९एसपीए०का विद्यार्थीहरूले विकास गरेका छन् ।
एसपीएमा बीआईएम छैटौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले ‘स्मार्ट होम’ अवधारणाको विकास गरेका हुन् । जसमा स्मार्ट घरमा हुनुपर्ने आइटीमा आधारित आधारभूत सामाग्रीहरू छन् । एसपीएका विद्यार्थीहरू पवन अवस्थी, नमिता जपरेल, सुदीप वली, कमला जोशी र सोनु भण्डारीले उक्त प्रविधिको विकास गरेका हुन् ।
उनीहरूले विकास गरेको प्रविधिअनुसार घरमा भएका सामाग्रीहरू एसी, फ्रिज, ग्यास, टिभी, बत्तीहरू गाडीलगायत वस्तुहरूलाई आफू घर बाहिर भएका बेला पनि कन्ट्रोल गर्न सकिन्छ । यस्तै उनीहरूले बनाएको प्रविधिमा घरमा अपरिचित व्यक्ति वा चोर आएपनि अलार्म९घण्टी० बज्ने सिस्टम समेत राखिएको छ । यस्तै गाडी पार्किङभन्दा दायाँबायाँ गयो भने मोबाइलमा जनाउ घण्टी बज्ने गर्छ ।
‘घर सुरक्षित बनाउन आवश्यक सम्पूर्ण प्रविधिहरू आइटीमा आधारित रहेर हामीले विकास गरेका छौँ,’ विद्यार्थी पवन अवस्थीले भने, ‘आधुनिक स्मार्ट सहरमा हुने स्मार्ट घरघरका लागि हामीले यी प्रविधिको विकास गरेका हौँ । हामीले विकास गरेका प्रविधिहरूको प्रयोग गर्दा जोसुकै घरमालिक पनि ढुक्क भएर बस्न सक्छ ।’
विद्यार्थीले बनाएको प्रविधिअनुसार भान्सामा सेन्सर राख्न मिल्छ । उक्त सेन्सरले ग्यास लिक भएको अवस्थामा मोबाइलमा घण्टी बजाउँछ । जसले गर्दा ठूलो दुर्घटना हुनबाट जोगिन सकिने पवनले बताए । स्मार्ट होससँगै उक्त समूहका विद्यार्थीले स्मार्ट ग्लास प्रविधिको विकास पनि गरेका छन् । उक्त स्मार्ट ग्लास दृष्टिविहीन व्यक्तिहरूका लागि वरदान साबित हुने समूहकी अर्की विद्यार्थी नमिता जपरेलले बताइन् ।
‘यो ग्लास लगाएर हिँडडुल गर्दा अगाडि केही बस्तु आएमा वा बाधा आएमा दृष्टिविहीन व्यक्तिलाई जनाउ घण्टी बज्छ,’ नमिताले भनिन्, ‘यसले गर्दा दृष्टिविहीन व्यक्तिलाई हिँडडुल गर्दा सहज हुनुका साथै कुनै दुर्घटना हुन पाउँदैन ।’ सोही समूहका विद्यार्थीहरूले अर्को प्रोजेक्टका रूपमा ‘फाइटर रोबर्ट’ को पनि विकास गरेका छन् । उक्त रोबर्टले अफिस, घर, रेस्टुरेन्टमा काममा सघाउँछ । अफिसमा समान, फाइलहरू बोक्ने, रेस्टुरेन्टमा अर्डर लिने, खाना पुर्याउनेलगायत कामहरू उक्त रोबर्टले गर्ने पवनले बताए ।
‘हामीले दैनिक रूपमा मानवीय क्रियाकलापलाई सघाउ पुगोस् भन्ने उद्देश्यले यी प्रविधिको विकास गरेका हौँ,’ पवनले भने, ‘अहिले हामीले सानो स्केलमा यी प्रविधिहरू बनाएका छौँ । यसको ठूलो र विस्तारित रूप बनाउँदै जानेछौँ ।’ ‘विद्यार्थीहरूले जुन किसिमको प्रविधि विकास गरेका छन् त्यो विकास नभएर आविष्कार हो । छोटो समयमै एसपीएका विद्यार्थीहरूले यी प्रविधिको आविष्कार गरेका छन्,’ एसपीएका बीआईएम कार्यक्रम निर्देशक इन्जिनियर भीम पुनले भने, ‘सूचना र व्यवस्थापनलाई सँगै जोडेर सामान्य मानिसका समस्या हल गर्न एसपीएका विद्यार्थीहरू तत्पर छन् । विद्यार्थीहरूलाई आइटी क्षेत्रबाट समाज र देश परिवर्तन गर्न प्रेरित गर्न हामी दिनरात भनेर काम गरिरहेका छौँ ।’