धामी झाँक्री सम्मेलन समापन : प्रतिबद्धता सहितको १४ बुँदे घोषणा पत्र जारी

अत्तरिया, ८ साउन : धनगढीमा सम्पन्न मर्यादित महिनावारीको लागि तीन दिने धामी झाँक्री सम्मेलन १४ बुँदे घोषणापत्र जारी गदैँ सम्पन्न भएको छ
सम्मेलनले मर्यादित महिनावारी वातावरण निर्माण गर्न धामी झाँक्रीहरुले महत्वपूर्ण भूमिका खेल्न सक्ने तथ्यलाई मध्यनजर गरी महिनावरीमा भेदभाव गर्ने, छुवाछुत गर्ने कु–प्रथाको अन्त्य गरी महिनावारीलाई मर्यादित बनाउनुपर्ने घोषणा गरेको छ ।
महिनावारीको रगत पवित्र हो । यो नै सृष्टिको आधार हो । यसलाई मर्यादित बनाउनुपर्छ । मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी हो भन्ने कुराको बोध भएको भन्दै धामी झाँक्रीले महिनावारी अवस्थामा रहेका किशोरी र महिलालाई छुवाछुत नगरी उचित सम्मान प्रकट गर्दै महिनावारीलाई मर्यादित बनाउन विशेष पहल गर्ने प्रतिबद्धता गरेको छन् ।
समाजमा हरेक किशोरी र महिलालाई सम्मानपूर्वक जीवन यापन गर्ने वातावरण सृजना गर्न उनीहरुलाई कुनै पनि किसिमको लैंगिक भेदभाव नगरी मर्यादित महिनावारी मैत्री पारिवारिक वातावरण तयार गर्दै जाने अग्रसरता लिने छ ।
घर परिवारमा मर्यादित महिनावारी मैत्री बनाउन किशोरी, महिलाहरुलाई महिनावारी हुने ५ दिन र महिनावारी नहुने २५ दिन समान व्यवहार कार्यान्वयन गर्नुपर्ने छ ।
धामी–झाँक्रीसँग हेराउन आएका व्यक्तिहरुमा आत्मविश्वास बढाउनको लागि मर्यादित महिनावारीको बारेमा सू–सुचित गर्ने छन् । घरमा मर्यादित महिनावारी सम्बन्धी सूचना तथा सन्देशहरु टाँस गर्नुपर्ने छ ।
महिनावारिको समयमा पोषण, आवास, सरसफाइ, स्वास्थ्य, शिक्षा, सहभागिताको लागि सकारात्मक सहयोग गर्नुपर्ने छ । विद्यालयलाई मर्यादित बनाउन गाउँपालिका तथा नगरपालिकासँग समन्वय गरेर जनचेतनामुलक क्रियाकलाप गर्ने तथा महिनावारी भएको समयमा पनि किशोरीहरुलाई विद्यालय जान प्रोत्साहित गर्नुपर्नेछ ।
विद्यालयमा मर्यादित महिनावारी सम्बन्धित सन्देशहरु भित्ताहरुमा टाँस्न लगाउनुपर्ने छ । महिनावारी मर्यादित विद्यालय बनाउनलाई महिनावारी मैत्री चर्पी, पानी तथा महिनावारी सामग्री व्यवस्था गर्न पालिकालाई अनुरोध गर्नुपर्ने छ ।
प्रदेश तथा पालिकासंग समन्वय गरेर समुदायमा मर्यादित महिनवारी सम्बन्धि जनचेतना जगाउने, तालिम, गोष्ठी, सडकनाटक, पोस्टर, पम्प्लेट आदिका लागि बजेट व्यवस्थापन गर्नुपर्नेछ ।
पालिकाले धामी–झाँक्री, अभियन्ता, पत्रकार आदि हरुलाई मर्यादित महिनावारीको प्रचार प्रसार गर्न परिचालन गर्नुपर्नेछ । समाजमा आध्यात्मिक, धार्मिक गुरुका रुपमा पहिचान पाएका धामी झाँक्रीहरुमध्ये मर्यादित महिनावारीलाई प्रोत्साहन, प्रवद्र्धन गर्नेहरुका लागि उचित पुरस्कार र सम्मानको व्यवस्था गर्नुपर्ने । त्यसका लागि सरकारी, गैर सरकारी तथा नीजि क्षेत्रलाइ समेत विशेष अनुरोध गरिने छ ।
समुदायमा मर्यादित महिनावारी प्रवद्र्धन गर्न दिवसहरु जस्तैः महिनावारी व्यवस्थापन दिवस, मे २८ तथा मर्यादित महिनावारी दिवस, डिसेम्बर ८ अन्तरराष्ट्रिय महिला दिवस तथा १६ दिने लैँगीक हिँसा विरुद्धको अभियान आदि लाई विशेष महत्वका साथ मनाउने छ । महिनावारी कानून (३ महिना जेल वा ३००० जरिवाना वा दुवै) को पालना गर्न गराउन प्रचार प्रसार गर्नुपर्ने छ ।
बिहिबार देखि सुरु भएको मर्यादित महिनावारीका लागि धामी झाँक्री सम्मेलन शनिबार सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री अमरबहादुर साँउदले समापन गरेका हुन । समापन कार्याक्रममा राज्यमन्त्री साउँदले मर्यादित महिनावारीका लागि धामी झाँक्री सम्मेलनले जारी गरेको घोषणपत्र कार्यान्वयन गर्नका लागि प्रदेश सरकारको सहयोग रहने प्रतिबद्धता जनाए । उनले महिनावारी भएको वेला हुने विभेद् विस्तारै कम हुँदै गएको बताए ।
कोइका परियोजना सल्लाहकार जोङ हा ली ले छाउपडी प्रथालाई व्यवस्थित गर्नका लागि नै आफु कोरियाबाट नेपाल पुगेको बताईन । उनले छाउपडी अर्थात महिनावारी प्रति समाजले हेर्ने दृष्टिकोण फेर्नका लागि कुनै एक व्यक्ति लाग्नु भन्दा पनि सबैको भूमिका रहने बताईन् ।
यस्तै, कार्यक्रममा पिसपिन बाजुराका सल्लाहकार लालबहादुर ओलीले धामी झाँक्रीहरुको विश्वास समाजमा धेरै भएको बताउँदै उहाँहरुले पनि सन्देश मुलुक कार्य गर्न सक्ने धारणा व्यक्त गरे । उनले छाउपडी भन्ने शब्दलाई रुपान्तरण गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा खत्याड गाउँपालिका मुगुका उपाध्यक्ष सरीता रोकायाले महिनावारी भएको वेला हुने विभेदको अन्त्यका लागि पालिका लेभलबाट हुने आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता जनाईन् । आफु पहिलो पटक महिनावारी हुँदा ९ दिन सम्म गोठमा बस्नु परेको पीडा सुनाउँदै उनले अव त्यस्तो अवस्था सिर्जना हुने नदिने गरी काम गर्ने धारणा व्यक्त गरिकी थिइन् ।
कार्यक्रममा सहभागि धामी झाँक्रीहरुले महिनावारीको बारेमा समाजमा भएको अन्धविश्वास तोड्न आफ्नो सहयोग रहने बताए । अछामबाट आएका धामी डिल्लीराज आउजीले तालिमका क्रममा महिनावारीका बारेमा सिकेका कुरा कार्यान्वयनमा ल्याउने बताए । यस्तै, बाजुराको बडीमालिका नगरपालिकाबाट आएका धामी देवराज जोशीले तालिमले महिनावारीका बारेमा सिकेका कानुनी कुरा सिकाएको बताए । ‘कुनै समय थियो । महिनावारी हुँदा घर भन्दा टाढा अर्थात अलग्गै बस्नुपर्ने बाध्यता तर, अव त्यस्तो छैन् । समय फेरिएको छ । कानुन फेरिएका छन्’ जोशीले भने । ‘त्यसले गर्दा कानुनको दायरा भन्दा वाहिर जाने छुट कसैलाई पनि छैन् । हामी पनि त्यहि भित्र रहर बस्ने छौँ ।’ तीन दिन सम्म भएको तालिमको महिला अधिकारकर्मी राधा पौडेलले सहजीकरण गरेकी हुन् । तालिममा सुदूरपश्चिमको बाजुरा, डोटी, कैलाली, अछाम र कर्णाली प्रदेशको मुगु जिल्लाका धामी झाँक्री तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । धामी झाँक्री सम्मेलन कोरियाली संस्था कोइकाको सहयोगमा गुड नेवर्स इन्टरनेशनल लगायतले आयोजना गरेका हुन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.