बैतडी : बैतडीको सुर्नया गाउँपालिका वडा नं ७ मा रहेको केदार माध्यामिक विद्यालयले प्रयोग गर्दै आएको भवनलाई स्थानीय गणेश साउँदले बाख्रा बाध्ने खोरको रूपमा प्रयोग गरेको पाइएको छ। साउँदले उक्त जमिन र भवन आफ्नो रहेको दाबी गर्दै बिगत ४ महिनादेखि बाख्रा बाध्ने गरेको पाइएको हो।
२०५२ सालमा शिखरपुर स्वास्थ्य चौकीको लागि उक्त भवन निर्माण गरिएको थियो। स्वास्थ्य चौकीलाई थप संरचना आवश्यक पर्न थालेपछि त्यहाँ थप जमिन नभएको हुँदा स्वास्थ्य चौकी अर्को ठाउँ सारिएको थियो। स्वास्थ्य चौकी अर्को ठाउँ सार्ने क्रममा विद्यालयले स्वास्थ्य चौकीलाई ३ लाख रुपैयाँ दिएको पाइएको छ।
गत वर्ष नापी कार्यालयबाट प्राविधिक टोली बेलाएर नापजाँच गर्ने क्रममा उक्त भवनको जमिन विद्यालयको नाममा रहेको भेटिएको विद्यालयका प्रद्यानाध्यापक उत्तर बहादुर कुवँरले बताए। विद्यालयको जमिनमा रहेको संरचना विद्यालयले नै प्रयोग गर्न पाउनु पर्ने उनको भनाइ छ। कक्षाकोठा अभावमा विद्यालयले उक्त भवनमा दिवा खाजा बनाउने र अन्य सामग्रीहरू राख्ने स्टोरको रूपमा प्रयोग गरेको विद्यालयले जनाएको छ। तर गणेश साउँदले भने स्वास्थ्य चौकीलाई आफूले दान गरेको जमिनमा आफ्नो मात्रै हक हुने बताउँछन्।
शनिबार उक्त विषयको विवाद समाधानका लागि गाउँपालिका अध्यक्ष अम्मर बहादुर कुवँर सहितको टोली छलफलमा बसेको भएपनि स्थानीय गणेश बहादुर साउँदले आफूले उक्त संरचना नछोड्ने अडान राखेपछि छलफल विनानिष्कर्ष टुङ्गिएको थियो।