सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालको शाखा धनगढीमा

धनगढी : डोटीको दिपायलमा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालको शाखा धनगढीमा पनि विस्तार भएको छ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सोमबार धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको शाखा अस्पतालको उद्घाटन गरेका हुन ।

धनगढीमा प्रहरी र पूर्व प्रहरीको ठूलो सङ्ख्या भएकाले उहाँहरुको स्वास्थ्य उपचारलाई ध्यान दिएर यहाँ शाखा विस्तार गरिएको प्रहरी महानिरीक्षक सिंहले बताए । प्रहरी प्रधान कार्यालय र धनगढीमा प्रहरी अस्पतालको शाखा विस्तार गर्ने प्राथमिकता थियो त्यहीअनुसार शाखा विस्तार भएको उनको भनाइ छ ।

“यहाँ महिलाहरुको स्वास्थ्य समस्या धेरै छ त्यसैले यहाँ अस्पतालको विस्तार जरुरी छ” उनले भने, “प्रहरी कल्याणकारी कोषद्वारा स्थापना भएको यो अस्पताललाई थप सुविधा सम्पन्न र नमुना अस्पताल बनाउन प्रहरी प्रधान कार्यालयले सक्दो सहयोग गर्नेछ ।”

केन्द्रीय प्रहरी अस्पतालका प्रमुख तथा प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहका अनुसार धनगढीको प्रहरी अस्पतालमा अहिले सात बेडबाट शुरु भएकोमा भविश्यमा ५० बेडको बनाउने लक्ष्य छ । सो अस्पतालमा अहिले दुई जना स्त्री रोग विशेषज्ञसहित चार जना चिकित्सक कार्यरत हुनुहुन्छ । आवश्यक्ताअनुसार स्वास्थ्यकर्मीको सङ्ख्या थप्ने उनले बताए ।

अस्पताल उद्घाटन कार्यक्रममा धनगढी उपमहानगरका प्रमुख गोपाल हमाल, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख मोहनकुमार आचार्यलगायतले धारणा राखेका थिए । सो अवसरमा प्रहरी महानिरीक्षक सिंहसँग पूर्व प्रहरी अधिकृतहरुले धनगढीलाई अझ सुविधा सम्पन्न अस्पताल बनाउनुपर्ने, सुदूरपश्चिमका नौ वटै जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने माग राख्नुभएको थियो । धनगढीको प्रहरी अस्पतालले एक सातासम्म धनगढीमै निःशुल्क स्वास्थ्य सेवा सञ्चालन गर्ने जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयले दिपायलमा सञ्चालन गरेको प्रहरी अस्पतालको शाखा भएको जनाइएको छ । विशेषज्ञ सेवा उपलब्ध रहने प्रहरी अस्पतालमा सर्वसाधारणले पनि उपचार सेवा प्राप्त गर्न सक्ने बताइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.