धनगढी,१९ साउन : स्त्रीरोग विशेषज्ञ नहुँदा महिला तथा त्यसैमा पनि गर्भवती महिलालाई उपचारमा समस्या भईरहेको बाजुरामा अब स्त्रीरोग विशेषज्ञ डाक्टर जाने भएका छन ।
स्वास्थ्य सेवाका हिसाबले एकदमै पछि रहेको बाजुरा जिल्लामा विशेषज्ञ डाक्टर नहुँदा उपचारमा निकै समस्या हुने गरेको छ । जिल्ला अस्पताल बाजुरामा उपचारका लागि आउने महिलाहरुलाई स्त्री रोग विशेषज्ञ नहुँदा धेरै रोग लुकाउनुपर्ने अवस्था छ ।
बुधबार मात्र जिल्लामा स्त्री रोग विशेषज्ञ नहुँदा दुई जना गर्भवति महिलालाई हेलिकोप्टरबाट उपचारका लागि वाहिर लगिएको थियो । जिल्ला अस्पताल बाजुरामा मेडिकल सुपरिटेण्डेण्टको जिम्मेवारी पाए लगत्तै स्त्रीरोग विशेषज्ञका लागि पहल सुरु गरेका डाक्टर मिलन जोशीले अबको एक साता भित्र स्त्रीरोग विशेषज्ञ जिल्ला अस्पतालमा हाँजीर हुने बताए । काठमाडौमा एक जना स्त्रीरोग बिशेषज्ञ डाक्टरसंग बाजुरा अस्पतालमा आउने सहमति भैषकेको उनको भनाई छ ।
अन्य सेवा तथा उपचार नियमित भैरहेको भएपनि स्त्रीरोग विशेषज्ञ नहुँदा गर्भवती महिलाको उपचारमा समस्या हुने गरेको डाक्टर मिलनको भनाई छ । दुर्गम जिल्ला भएकाले धेरै डाक्टरहरु बाजुरा आउन मान्दैनन डाक्टर मिलनले भने, कोही आई हाले पनि बस्न मान्दैनन,अहिले एक जना स्त्रीरोग विशेषज्ञ डाक्टरलाई कन्भेन्स गरेर बाजुरा आएर सेवा दिने पक्का भएको छ ।’ बाजुरा जिल्लामा कुनै पनि ठाउँमा स्त्रीरोग विशेषज्ञ नहुँदा स्वास्थ्य शिविरहरु संचालन गर्न समेत समस्या भईरहेको उनको भनाई छ । उनले शिविर संचालन गर्दा अधिकांस महिलाहरु उपचारका लागि आउने गरेको बताउँदै त्यसका लागि स्त्रीरोग विशेषज्ञ अनिवार्य देखिएको बताए । यी सबै समस्याका कारण स्त्रीरोग विशेषज्ञ बाजुरामा ल्याउन आफुले पहल गरेको डाक्टर मिलनले बताए ।
अहिले बाजुरा जिल्ला अस्पतालको सेवामा निकै सुधार भएको पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्ल बताउँछन । उनले पछिल्ला केही महिना यता जिल्ला अस्पतालको सेवामा सुधार भएको बताउँदै स्त्रीरोग विशेषज्ञ आएपछि महिलालाई उपचारमा ठुलो सहयोग पुग्ने बताए । मेडिकल सुपरिटेण्डेण्ट डाक्टर जोशीले स्वास्थ्य सेवामा निकै पछाडी रहेको बाजुराको स्वास्थ्य सेवा सुधार गर्नु नै आफ्नो लक्ष्य रहेको बताए । उनले भने, म पनि दुर्गममै जन्मेको हुनाले दुर्गमको स्वास्थ्य उपचार र स्थानीयका पीडा थाहा छन, जागिर खानु मात्र भन्दा पनि केही सुधार गर्न सके मात्र म सफल हुन्छु यसका लागि सबै संग सहकार्य गरेर अघि बढ्छु ।’ डाक्टर मिलन पनि छिमेकी जिल्ला बझाङका हुन ।
सम्बन्धित पाेस्टहरु