अत्तरिया : कैलालीमा डेंगुका बिरामी बढेका छन् । साउन महिनायता कैलालीका हरेक स्थानीय तहमा डेंगुका बिरामी देखापर्न थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार साउन १ गतेयता कैलालीको लम्की चुहा नगरपालिकामा मात्र २५ जनामा डेङ्गुको संक्रमण देखिएको छ ।
लम्की चुहाको पनि वडा नम्बर ३ चिसापानी क्षेत्रमा यी बिरामी देखापरेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए । उनले थोरै परिक्षण गर्दा पनि यत्रो संख्यामा देखापरेको बताए । ‘कैलालीको लम्कीचुहा नगरपालिका डेंगुको उच्च जोखिममा परेको देखिएको छ । स्वास्थ्य कार्यालय कैलालीका प्रमुख धामीले भने, ‘त्यसको प्रमुख कारण त्यहा डेंगु भाइरस सार्न सक्ने लामखुट्टे बस्न उपयुक्त वातावरण बनेको छ, जमिरहने सफा पानीमा डेंगु सार्ने लामखुट्टेको लार्भा हुर्कने गरेको छ ।’
लम्की क्षेत्रमा पानी जम्ने खाल्डाखुल्डी बढी भएका कारण त्यहाँ डेंगु सार्ने लामखुट्टेको संख्या उच्च रहेको उनको भनाइ छ । धेरै मानिसमा डेंगुको संक्रमण देखिएपछि अहिले लम्की क्षेत्रमा लामुखुट्टे नष्ट पार्ने किटनाशक औषधि छर्ने काम भइरहेको कार्यालय प्रमुख धामीले बताए । त्यसका साथै संक्रमण बढी भएका क्षेत्र आसपासका सबै नागरिकको स्वास्थ्य परीक्षण गर्ने तयारी गरिएको भए पनि तत्काल भने किट अभाव रहेको उनले बताए । ‘लम्कीका सबै नागरिककको डेंगु परीक्षण गर्ने तयारी गरिए पनि किटको अभावका कारण हालसम्म काम गर्न सकेका छैनौँ,’ कार्यालय प्रमुख धामीले भने, ‘संघीय सरकारसँग हामीले किट माग गरेका छौँ ।’
स्वास्थ्य प्रमुख धामीले कैलालीका अन्य स्थानीय तहमा पनि फाटफुट रुपमा डेंगुका बिरामी देखापरेका भए पनि अहिले रिपोर्टिङमा आइनसकेको बताए। स्वास्थ्य कार्यालय कैलालीका अनुसार गत वर्ष पनि कैलालीको लम्की चुहामा १ सय ३३ जना डेंगुका बिरामी देखापरेका थिए। खासगरी असारदेखि असोजसम्म डेंगुका बिरामी देखिने गरेको स्वास्थ्य कार्यालय प्रमुख धामीले बताए ।