द्वन्द्वपीडित बडूलाई राहतको चिठी आयो, रकम आएन

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका–७ सुर्कालका नन्दराज बडू द्वन्द्वपीडित हुन्। उनी तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीमा संलग्न भएकाले उनका बुबालाई बेपत्ता पारियो। बुबाको अवस्था अझै आज्ञात छ।

२० वर्षअघि २०५९ सालमा व्यक्तिगत कामका लागि बैतडीबाट कञ्चनपूर जाँदै गरेका उनका बुबा गंगादत्त बडू बाटोबाटै बेपत्ता भए। द्वन्द्वका कारण बुबा गुमाएका नन्दराजको शरीरका अंगले कुटाइ खाएका कारण राम्रोसँग काम गर्दैनन्। यस विषयमा समाचार प्रशारण तथा प्रकाशन भएपछी नन्दराजबारे छानबिन गरी राहत स्वरुप १० लाख रकम प्रदान गरिने चिठी प्राप्त भयो । तर, उक्त चिठीअनुसारको रकम भने अझै पाइएको छैनन् ।

नन्दराजलाई गृह मन्त्रालयमार्फत १० लाख रकम उपलब्ध गराउन बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सिफारिस गरेको छ। उक्त चिठी नन्दराजका नाममा गत १३ जेठमा पठाइएको छ। तर, उनले हालसम्म रकम पाउने विषयमा अन्य जानकारी प्राप्त गरेका छैनन्।

नन्दराजका छोरासमेत अपाङ्ग छन्। छोराको उपचार गर्न र पैसा जुटाउन भारतका विभिन्न ठाउँहरूमा मजदुरी गरे पनि छोराको उपचार सम्भव भइसकेको छैन्।

उनले दर्जनौँपटक तत्कालीन शान्ति समिति, जिल्ला प्रशासन कार्यालय, मानवअधिकारवादी संस्था सबै ठाउँ धाए पनि केही सहयोग नपाएको गुनासो गरे। ‘बुवाको मृत्यु भएको जानकारी मात्रै पाए पनि काजकिरीया गर्थँँ। तर, न सास न लास भनेझैँ केही खबर पाएको छैन,’ नन्दराज भन्छन्। उनका बुबालाई तत्कालीन सरकारी पक्षले मारेको हुनसक्ने उनको आशंका छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.