अत्तरिया : आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश निर्वाचनका दलहरु धमाधम उम्मेदवारी सिफारिस गर्ने क्रममा छन् । सत्तारुढ दलहरुको गठबन्धन गर्ने भनिए पनि काँग्रेस, माओवादी र एकीकृत समाजवादी दल उम्मेदवारीको सिफारिस गरिरहेका छन् । यस्तै नेकमा एमाले पनि उम्मेदवारीहरु सिफारिस गरिरहेका छ ।
सुदूरपश्चिममा सबै भन्दा चासोका साथ हेरिएको कैलाली क्षेत्र नम्बर ५ मा काँग्रेस नेतृ आरजु राणा देउवाको नाम सिफारिस गरेको छ । कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ‘क’ को प्रदेश समितिको बुधवार बसेको बैठकले डा. आरजु राणा देउवा संघीय संसदमा सर्वसम्मत एकल उम्मेदवार बनाएको हो । त्यसै गरी संघीय समानुपातिकका लागि पनि महिलाका तर्फबाट जीवन राना सर्वसम्मत एकल उम्मेदवार बनेकी छन् । प्रदेशको प्रत्यक्ष र समानुपातिक तर्फमा भने २६ जनले दाबी गरेका छन् ।
बैठकले कैलाली ५ को ‘क’ प्रदेश सभाको लागि प्रत्यक्ष तर्फ ८ जनाको नाम सिफारिस गरेको छ । जसमा गणेश बहादुर देउवा, सन्तराम चौधरी, रामसमझ राना, प्रभातकुमार चौधरी, प्रेमराज जोशी, नारायणप्रसाद बराल, लक्ष्मीनारायण चौधरी र सिताराम राना रहेका छन् ।
यसै गरी समानुपातिक तर्फ १८ जनाको नाम सिफारिस गरिएको छ । जसमा उद्धबबहादुुर विष्ट, सिताराम राना, गणेशबहादुर देउवा, सन्तराम चौधरी, आशाराम राना, रामसमझ राना, प्रभातकुमार चौधरी, जमुना दाहाल भण्डारी, अम्बादत्त भट्ट, नारायणदत्त भट्ट, प्रमीला लम्साल, गणेशप्रसाद जोशी, गरिवदास डगौरा थारु, लम्मी प्रसाद देवकोटा, लक्ष्मीनारायण चौधरी, कमलबहादुर पुनमगर, सरोज चौधरी र लक्ष्मी भण्डारीको नाम सिफारिस गरेको सचिव नीरज विष्टले जाकारी दिए ।
यस्तै, डडेल्धुराबाट शेरबहादुर देउवालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेसले प्रत्यक्षतर्फ देउवालाई उम्मेदवार बनाउने निर्णय भएको हो ।
बिहीबार क्षेत्रिय समितिको बैठकबाट डडेल्धुराको प्रदेश ‘क’ र प्रदेश ‘ख’ले देउवालाई नै उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरेको कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतले बताए । देउवा यसअघि पनि डडेल्धुराबाटै सांसदमा निर्वाचित भएका थिए । उनी वर्तमान प्रधानमन्त्रीसमेत हुन् ।
त्यस्तै, गरी नेकपा एमालेको निर्वाचन क्षेत्रीय कमिटिहरुले बैतडीका दुईओटै प्रदेश सभा सदस्य उम्मेदवारका लागि नाम सिफारिस गरेको छ । पाटनमा बसेको क्षेत्रीय कमिटी बैठकले प्रदेश सभा क्षेत्र नम्बर (क) बाट जिल्ला अध्यक्ष सुरेन्द्र पालको नाम सर्वसम्मत सिफारिस भएको छ । क्षेत्रीय कमिटी संयोजक अक्कलबहादुर रानाको अध्यक्षतामा बसेको बैठकले पालको नाम सिफारिस गरेको हो ।
यस्तै प्रदेश सभा क्षेत्र नं (ख) बाट केन्द्रिय सदस्य एवं जिल्ला सह–इन्चार्ज लिलाधर भट्टको नाम सर्वसम्मत सिफारिस भएको छ । भट्ट अहिले पनि प्रदेशसभा सदस्य रहेका छन् । गएको चुनावमा उनी एमालेबाट निर्वाचित भएका थिए । यस्तै डोटीमा काँग्रेस डोटीका सचिव गणेश खड्काले डोटीमा काँग्रस एक्लैले चुनाव लड्ने निर्णय गरेको छ ।
बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । केन्द्रीय गठबन्धनको निर्णयविपरीत डोटीमा एकल चुनाव लड्ने निर्णय गरिएको हो । केन्द्रीय गठबन्धनले सबै जिल्लाहरुमा गठबन्धन र भागवण्डाका आधारमा निर्वाचनमा जाने निर्णय गरेको थियो । गठबन्धनका ‘हेभिवेट’ नेताको निर्वाचन क्षेत्रका रुपमा परिचित डोटीमा भागवण्डा र टिकटको कुरा नमिल्ने देखिएपछि यस्तो निर्णय गरिएको बताइएको छ ।
गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर, एकीकृत समाजवादीका नेता प्रेमबहादुर आले र नेकपा माओवादी केन्द्रका नेता तथा सुदूरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतिनिधिसभामा टिकटका लागि दाबी गरिरहेका थिए । उनीहरुबीच गठबन्धनमा टिकट लिने किचलो चलिरहेकै बेला काँग्रेस डोटीले एकल रुपमा चुनाव लड्ने घोषणा गरेको छ ।
डोटीमा काँग्रेसले प्रतिनिधिसभातर्फ वीरबहादुर बलायर, भरतबहादुर खड्का, यज्ञराज पाठक, गोरख विष्ट (आनन्द) र धिरेन्द्र शाहीको नाम सिफारिस गरिएको छ । काँग्रेसले प्रदेश सभातर्फ ‘क’ मा नरेन्द्रबहादुर सिंह,
जितबहादुर खड्का र ‘ख’ मा प्रदीपकुमार देउवा, भूमिराज बडू को नाम सिफारिस गरेको छ ।