सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन अन्त्य : ५ वर्षमा ६७ विधेयक पारित, प्रदेश राजधानी र नामकरण घोषणा

अत्तरिया : सुदूरपश्चिम प्रदेश सभाको चालु अधिवेशन शुक्रबार अन्त्य भएको छ। संघीयता कार्यान्वयनपछि पहिलोपटक गठित प्रदेश सभाको कार्यकाल पाँच वर्ष पुग्न लागेको छ।

चालु अधिवेशन अन्त्यसँगै सुदूरपश्चिम प्रदेश सभा अब फेरि नबस्ने पक्कापक्की छ। अब मंसिर ४ को चुनावपछि नयाँ प्रदेश सभा सदस्य आएपछि मात्रै प्रदेश सभाको बैठक बस्नेछ। प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सरकारको सिफारिसमा वर्षे अधिवेशन अन्त्य गर्न प्रदेश सभा सचिवालयमा पत्राचार गरेको थियो।

शुक्रबार बिहान बसेको दशौं अधिवेशनको २७ औं बैठकमा सभामुख अर्जुनबहादुर थापाले दशौं अधिवेशनका मुख्य कार्यको जानकारी दिँदै सभा सञ्चालनमा सहयोग पुर्‍याउने सदस्यहरूलाई धन्यवाद दिँदै प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सुनाउँदै सभा अन्त्य भएको घोषणा गरे। ०७४ साल माघ १७ गते प्रदेश सभा सदस्यहरूको शपथग्रहण गरी बैठक सञ्चालन भएको थियो। प्रदेश सभा गठन भएयता दशवटा अधिवेशन सञ्चालन भएका छन्।

प्रदेश सरकार गठन, सरकारको निगरानी संविधानको अनसुची ६, ७ र ९ बमोजिमको अधिकार क्षेत्रअन्तर्गत कानुन निर्माण गर्ने जिम्मेवारी पाएको प्रदेश सभाको कामकारबाही सन्तोषजनक रहेको सभामुख अर्जुनबहादुर थापाले बताए। उनले प्रदेश सरकार र प्रदेश सभा सदस्यहरूको सहयोगका कारण विवादरहित प्रदेश सभा बैठक सञ्चालन गर्न सहज भएको बताए।

उनले भने, ‘बजेटमाथिको छलफल अघि बढाउन होस् या पारित गराउन। सरकारले ल्याएका कुनै पनि ऐन, कानुन, नीति, प्रतिवेदनलाई पारित तथा छलफलमा ल्याउन असहजता भएन।’

५ वर्ष मुख्यमन्त्रीमा त्रिलोचन भट्ट
०७४ साल फागुन ३ गते नेकपा माओवादी केन्द्रबाट पहिलो पटक सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा त्रिलोचन भट्ट नियुक्त गरिएको थियो। प्रदेशका मुख्यमन्त्री नियुक्त भएसँगै ५ गते उनले प्रदेश प्रमुख मोहनराज मल्लबाट पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए।

सोही दिन मुख्यमन्त्रीसँगै छ, सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका थिए। नेकपा विभाजनसँगै पद धरापमा रहँदा ०७८ साल जेठ २५ गते दोस्रो पटक मुख्यमन्त्री भट्टले ५२ सदस्य रहेको प्रदेश सभामा विश्वासको मत लिएका थिए।

भट्टले सभाबाट पक्षमा ३० र विपक्षमा नौ मत प्राप्त गरेका थिए। दोस्रो पटक मुख्यमन्त्री बनेका भट्टको कार्यकालमा हालसम्म २१ जना मन्त्री बनेका छन्। प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीलाई बर्खास्त गरेसँगै थप एक जना मन्त्री बन्ने सम्भावना बढेको छ।

एकीकृत समाजवादी पार्टीबाट बलबहादुर सोडारी र सुशिला बुढाथोकीमध्ये एक जना राज्यमन्त्री थप्ने प्रदेश सरकारले तयारी गरिरहेको छ।

प्रदेश सभाले ०७५ असोज १२ गते प्रदेशको नाम सुदूरपश्चिम तथा राजधानी गोदावरी नगरपालिकाको तेघरीमा राख्ने प्रस्ताव दुई तिहाइ बहुमतसाथ पारित गरेको थियो।

प्रदेश सरकारले राजधानी घोषणा गरे पनि हालसम्म भौतिक संरचना निर्माणलगायत कुनै पनि प्रगति गर्न सकेको छैन।

प्रदेश सभा गठन भएयता सभाबाट ६७ वटा विधेयक पारित भएका छन्। सभाबाट पारित भएका तीन वटा विधेयकबाहेक अन्य ऐन प्रदेश प्रमुख कार्यालयबाट प्रमाणीकरण भइसकेका छन्। सभाले पारित गरेको प्रदेश रेडियो, एफएम तथा टेलिभिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक निष्क्रिय छ।

आम सञ्चारमाध्यमलाई कुण्ठित गर्न विधेयक ल्याएको भन्दै विरोध भएपछि सो विधेयकलाई निष्क्रिय बनाई प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आम सञ्चार नीति ल्याउने तयारी गरेको थियो। नीतिबारे प्रदेशभरि छलफल भए पनि मन्त्रालयले सभामा पेस नगर्दा त्यो नीति अलपत्र परेको छ।

संघमा सरकार फेरिएसँगै प्रदेशमा पनि प्रदेश प्रमुखहरू फेरिएका छन्। प्रदेशमा पहिलो प्रदेश प्रमुख मोहनराज मल्ल बनेका थिए। मल्ललाई ओली सरकारको नेतृत्वले हटाउँदै प्रदेश प्रमुखमा शर्मिलाकुमारी पन्तलाई नियुक्त गरेको थियो।

एक वर्ष एक सय ८० दिन कार्यअवधि सम्हालेका पन्तलाई नेकपा विभाजनसँगै फेरबदल गरी गंगाप्रसाद यादवलाई प्रदेश प्रमुखको जिम्मेवारी दिइएको थियो। यादवलाई वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले फेरेको थियो। एक सय ९० दिन कार्यभार सम्हालेका यादवलाई हटाउँदै हाल प्रदेश प्रमुखमा देवराज जोशी छन्।

सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले पाँच वर्षे कार्यकाललाई मिश्रित रूपमा व्याख्या गरेका छन्। प्रतिपक्षी दलहरूले सरकारलाई आलोचना गरेका छन् भने सत्तापक्षका प्रदेश सभा सदस्यहरूले कार्यकाल सन्तोषजनक, चुनौतीपूर्ण रहेको प्रतिक्रिया दिएका छन्।
प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश सभा सदस्य कृष्णबहादुर चौधरीले प्रदेश सभाको पाँचवर्षे कार्यकाललाई तीतो अनुभवका रूपमा लिएको बताए।

उनले भने, ‘सरकारले जनताको पक्षमा काम गर्न सकेन। सभामा उठाएका प्रश्नमा सरकार गम्भीर भएन। प्रदेश सरकारले जनताले देख्ने गरी कुनै पनि काम गर्न सकेन। आर्थिक अनियमितता, भ्रष्टाचार वृद्धि भएको छ। जनतालाई प्रदेश सरकार छ भन्ने अनुभूति यो सरकारले दिन सकेन।’

एमालेका प्रदेश सभा सदस्य कृष्णराज सुवेदीले सरकारले जनताको भन्दा पनि कार्यकर्ता, र आफन्तलाई खुसी बनाउने, रोजगारी दिने गरी काम गरेको बताए। एकीकृत समाजवादी पार्टीकी प्रदेश सभा सदस्य पूर्णा जोशीले संघीयतापछिको पहिलो प्रदेश सभा भएकाले अपेक्षाअनुसार धेरै काम गर्न नसकिएको बताइन्।

उनले भर्खर–भर्खर संघीयताको अभ्यास गर्दा जनताको चाहनाअनुसारका कतिपय काम हुन नसकेको बताइन्। प्रदेशको सार्वजनिक लेखा समितिकी सभापति कुमारी नन्दा बमले प्रदेश सरकारअन्तर्गतका निकाय तथा संस्थामा देखिएका अनियमितता, बेरुजु, सार्वजनिक साधन र स्रोतको हिनामिना, चुहावट तथा भ्रष्टाचारजन्य काम–कारबाही न्यूनीकरण गर्न समितिले प्रभावकारी भूमिका निर्वाह गरेको दाबी गरिन्। उनले समितिलाई काम गर्न समस्या र चुनौती रहे पनि आवश्यक कार्ययोजना बनाई आफ्नो कामकारबाही अगाडि बढाएको बताइन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.