डोटी, २० भदौ : डोटीको बग्लेग पछिल्लो समय मिनी खप्तड’ का रूपमा परिचित हुँदै गएको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ मा पर्ने बग्लेग क्षेत्र प्राकृतिक रूपमा अत्यन्तै सुन्दर रहेको छ ।
बग्लेग डोटी जिल्ला सदरमुकाम सिलगढी भएर खप्तड जाने क्रममा बाटोमा पर्दछ । फराकिलो फाँट र चिसो हावापानी यस क्षेत्रको विशेषता हो । जसले त्यहाँ जाने हरेक मानिसलाई लोभ्याउने गर्दछ । सिलगढीबाट आधा घण्टाको बाटो गाडीको यात्रा गरेपछि बग्लेग पुगिन्छ ।
खप्तडको प्रवेशद्वारका रूपमा रहेको झिग्रानासम्म जाने पक्की सडकले यस बग्लेग क्षेत्रलाई छोएको छ । जस कारण यस क्षेत्रमा घुम्न आउनेहरू भिडै दिनानुदिन बढ्न थालेको छ । यो क्षेत्र प्राकृतिक रूपमा मात्र सुन्दर नभएर धार्मिक रूपमा पनि उत्तिकै महत्त्वपूर्ण छ ।
बग्लेगमा एउटा बराही देवीको मन्दिर रहेको छ । यस मन्दिरमा भदौ शुक्ल सप्तमीका दिन जाँत (मेला) समेत लाग्ने गर्दछ । जसले यस क्षेत्रको प्राकृतिक सौन्दर्यता सङ्गै धार्मिक र सांस्कृतिक मौलिकता समेत झल्काएको छ ।