डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकाका नगर प्रमुख भरत बडायर जोशले सय दिनमा भएका महत्वपूर्ण कार्यहरु सार्वजनिक गरेका छन् । मंगलबार एक सूचना जारी गर्दै जिम्मेवारी सम्हालेको सय दिनमा २५ कामको सूची सार्वजनिक गरेका हुन् ।
नगरपालिकाले स्वास्थ्य क्षेत्रमा ६ वटा महत्वपूर्ण काम भएको जनाएको छ । यस्तै गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवादेखि जोगबुडा अस्पतालमा भौतिक संरचना निर्माणसम्मका काम सुचारु गरिएको मेयर जोशीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सय दिनमा सघन शहरी कार्यक्रम अन्तर्गत परशुराम नगरपालिकामा व्यवस्थित बसपार्क, सडक कालोपत्रे, सदरमुकामको बजार क्षेत्रमा ढल निकासको काम भएको नगरपालिकाले जनाएको छ । परशुराम नगरपालिकाको विकासका लागि प्रधानमन्त्री र मन्त्रीसँग नियमित संवाद भइरहेको विषयलाई पनि जोशीले उपलब्धिका रुपमा राखेका छन् ।