काठमाडौँ : आम निर्वाचनको मुखमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको हैसियतको चासो र चर्चा छ। देउवासँगै उनकी पत्नी समेत रहेकी पार्टी केन्द्रीय सदस्य आरजु राणा देउवाको पनि नाम जोडेर समर्थन र आलोचना दुवै हुन्छ।
त्यत्ति मात्र नभई पार्टीका क्रियाशील सदस्य रहेका देउवा दम्पतीका एक्ला छोरा जयवीरसिंहका कारण कांग्रेसको राजनीति परिवारभित्र खुम्चिँदै गएको भन्दै कार्यकर्ता निरास छन्। लाभ लिएका देउवा निकट तथा यो पक्षका नेता कार्यकर्ता भने प्रशंसा गरेर थाक्दैनन्। कांग्रेसको एउटा समूह र केहि नागरिकले नरुचाउदैमा देउवाको हैसियत कमजोर हुँदैन भन्नेहरु भएजस्तै देउवाको कार्यशैली र परिवारवाद नरुचाउनेहरु पनि उत्तिकै छन्।
देउवा पार्टी र सरकारमा सशक्त बन्दै जानुमा पत्नी आरजुको महत्वपूर्ण हात रहेको कांग्रेस नेताहरु बताउँछन्। आरजु आर्थिक रुपमा बलियो भएका कारण अदृष्यतवरले महत्वपूर्ण भूमिका खेलेको टिप्पणी हुन्छ। आम निर्वाचनपछि आरजुलाई प्रधानमन्त्री बनाउने समेत सत्ता गठबन्धनमा र बिषेश गरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सहमति भएको बुझिएको छ।
देउवालाई जस्तै पार्टीमा आरजुलाई कार्यकर्ताले नपत्याउने भएपनि आर्थिक स्रोत बलियो भएका कारण जबर्जस्त राजनीतिमा स्थापित भएकोमा कार्यकर्ता रुष्ट छन्। देउवा भने २०४८ सालपश्चात निरन्तर सबै निर्वाचनमा डडेलधुराबाट विजयी हुँदै आएका छन् । उनी हालसम्म ६ पटक निर्वाचित भइसके । आगामी मंसिर ४ को निर्वाचनमा उनी सातौं पटक भिड्न लागेका हुन्।
संसदीय निर्वाचनमा देउवाले २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा जीत निकालेर रेकर्ड कायम राख्न सफल भएका छन्। राज्य सञ्चालनतर्फ कुरा गर्नु पर्दा पनि उनि धेरै पटक प्रधानमन्त्री बन्नेमा गनिन्छन्। उनी हाल पाँचौ पटक प्रधानमन्त्रीको कार्यकालमा छन्। त्यसो त विद्यार्थी राजनीतिदेखि नै देउवा नेतृत्व हात पार्न सफल भएको इतिहास छ।
२०२८ सालमा नेविसंघको सभापति बनेका देउवाले अधिवेशन नगरी चार कार्यकाल अर्थात ८ बर्ष नेविसंघको कुर्सी छाडेका थिएनन्। देउवा विद्यार्थी राजनीतिदेखि नै निर्वाचनमार्फत चुनिएर नेतृत्व सम्हाल्दै आएपनि आरजु भने देउवाको ठ्याक्कै उल्टो बाटोबाट अर्थात समानुपातिक कोटाबाट राजनीतिको भर्याङ उक्लिरहेकी छन्। मंसिर ४ को निर्वाचनमा पनि प्रत्यक्ष लड्ने तयारी गरेपनि उनी चुनाव लड्ने आँट नगरेर समानुपातिक सांसदको बन्द सूचीमा छन्। यसपटको आम निर्वाचनको लागि आरजु तीन प्रदेशका पाँच वटा जिल्लाबाट प्रतिनिधिसभाको लागि सिफारिसमा परेकी थिइन्।
सुदूरपश्चिम प्रदेशको कैलाली ५ र डडेल्धुरा, लुम्बिनी प्रदेशको बाँके ३ र बर्दिया २ तथा गण्डकी प्रदेशको बागलुङ २ बाट उनको नाम सिफारिस भएको थियो। कांग्रेसमा धेरै जिल्लाबाट प्रतिनिधिसभाको लागि नाम सिफारिस हुनेमा आरजु अगाडि थिइन्। अघिल्लो पटक कैलाली ५ मा बाम गठबन्धनबाट उम्मेदवार बनेका नारदमुनि रानासँग प्रत्यक्ष निर्वाचनमा होमिएकी राणा ५ हजार बढी मतले पराजित भएकी थिइन्।
आरजुको लागि कैलाली ५ यस पटक पनि जोखिम हुन सक्ने भन्दै उनका अगाडि थुप्रै विकल्प राखिएको चर्चा भएपनि समानुपातिकको बन्द सूचीमा उनको नाम राखिएको छ। स्थानीय तहको निर्वाचनमा कांग्रेसले नजितेका ठाउँमा पैसा पठाउँदैनौँ भनेर विवादमा आएकी आरजुले संघीय चुनावमा आफै लड्ने आँट गर्न सकिनन्।
कैलाली जिल्लाकी कांग्रेसकी एक महासमिति सदस्यले आरजु राणालाई हेर्ने नजर नै गलत भइसकेको तर्क गरेकी छन्। उनले भनिन्, ‘पार्टीको नेता भएर सबै कार्यकर्तालाई समान व्यवहार गर्ने खालको हुनुपर्छ। तर आफू निकट सीमित व्यक्तिलाई मात्रै भेट दिने, सीमित समूह भित्रमात्रै राजनीति क्रियाकलाप गर्ने उहाँको परिपाटी छ, घेराभित्र बसेको छ, उनको समूहका भन्दा अन्य कार्यकर्ताको वास्ता छैन,पार्टी अनुशासनको कारवाही पनि व्यक्ति हेरेर हुने गरेको छ,’ उनले थपिन्, ‘आफ्नो फाइदाको लागि अरुलाई बन्देज गर्ने,चाकडी गरेर धेरै ठाउँबाट आरजु सिफारिसमा पर्नुभएको हो, शेरबहादुर देउवालाई स्वीकारेको जस्तो उनकी श्रीमतीलाई पार्टीभित्र स्वीकार गर्दैनन्।’
पाल्पा कांग्रेस नेता माधव प्रसाद नेपालले सधै सबै शक्तिमा नहुने भएकाले देउवा परिवार पनि एकदिन पाखा लाग्ने दाबी गरे। उनले भने, ‘सबैको पालो आउँछ,देउवा परिवार पनि सधैँ शक्तिमा रहदैन।’ लुम्बिनी प्रदेश प्रत्यक्षमा लड्ने तयारी गरेका उनले थपे, ‘१० जना कार्यकर्ताले विद्रोह गरेर पार्टी परिर्वतन गर्न सक्ने हिम्मत छ हामीसँग।’ मधेस प्रदेशबाट समानुपातिक सांसदको सूचीमा परेकी ममता महतोले अविवाहित हुँदा पार्टीमा पत्याउने वातावरण नभएको गुनासो गरिन्। ‘भोलि विवाह गरेर कुन ठाउँमा जाने हो भनेर स्थानीयले नपत्याउने र केन्द्रले पनि विश्वाश नगरेको कारण सक्रिय भएर खट्दा पनि प्रत्यक्षमा टिकट पाउन गाह्रो भएको छ, कांग्रेस नातावाद, पुँजीवाद र कृपावाद भन्दा माथि उठ्न सकेको छैन।’ देश सञ्चारबाट