अत्तरिया : नेकपा (माओवादी केन्द्र) ले कैलाली–१ को प्रतिनिधिसभा उम्मेदवारमा कमजोर दावी प्रस्तुत गरेको छ। पार्टीले हालै राष्ट्रिय जनमोर्चाबाट आएका दयाराम सञ्ज्याल र सुरेन्द्र देवकरलाई सिफारिस गरेको छ। सञ्ज्याल पाँच महिना अघि मात्रै माओवादी केन्द्रमा आएका हुन। उनी राष्ट्रिय जनमोर्चाको जिल्ला अध्यक्ष थिए भने हाल माओवादी केन्द्रको प्रदेश कमिटी सदस्य हुन। देवकर भने माओवादी केन्द्रमा लामो समयदेखी आवद्ध छन। उनी कैलाली–१ संघीय निर्वाचन क्षेत्रको संयोजक हुन।
पार्टीले लामो समयदेखी काम गरेका सिनियर नेताको ठाउँमा भरखरै पार्टी प्रवेश गरेका व्यक्तिलाई उम्मेदवारका रुपमा सिफारिस गरेपछि माओवादी केन्द्रको दावीलाई कमजोर मान्न सकिने स्रोतको भनाइ छ। २०७४ मा भएको निर्वाचनमा रेशमलाल चौधरीको सानदार जित र हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कैलालीको पूर्वी भेगका चार पालिकामा जितेर नागरिक उन्मुक्ति पार्टीको उदयले ठूला दललाई झस्काएको छ। नागरिक उन्मुक्तिसँगको प्रतिस्पर्धालाई लिएर ठूला दल डराएका छन।
माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा कैलाली जिल्ला इञ्चार्ज हरिलाल ज्ञवालीले कसैसँग डराएको नभई गठबन्धनका कारण कमजोर दावी प्रस्तुत गरेको भन्न सकिने बताए। उनी गठबन्धन भए कैलाली–१ काँग्रेसको भागमा पर्ने बताउँछन। ‘काँग्रेससँग पुराना नेता छन। टीकापुर नगर कमिटी अध्यक्ष खडकबहादुर शाह समेत अरुसँग डराएर कमजोर दावी प्रस्तुत गरेको कुरालाई अस्विकार गर्छन। उनले युवालाई अघि सार्नुपर्छ भन्ने मनसायले पुराना नेताको ठाउँमा युवालाई अघि सारेको बताए। ‘डराएको भन्न मिल्दैन’ उनले भने–‘युवालाई अवसर दिएको भन्दा राम्रो होला।’
कैलाली जिल्ला इञ्चार्ज ज्ञवाली र थारु समुदायका हेभिवेट नेपबहादुर चौधरी प्रदेशसभाको उम्मेदवारमा सिफारिस भएका छन। ज्ञवाली संविधान सभा सदस्य हुन। चौधरी २०७४ मा प्रदेशसभा सदस्यमा पराजित भएका थिए। उनीहरु दुवैजना प्रदेशका लागि सिफारिस हुनुले पार्टीले प्रतिनिधि सभातर्फ खाशै महत्व नदिएको स्रोतको दावी छ।
गठबन्धनमा रहेको माओवादी केन्द्रले प्रतिनिधिसभाको उम्मेदवार काँग्रेसलाई छोडेर कैलाली–१ (ख) मा आफ्नो दावी बलियो बनाएको छ। यो ज्ञवाली र चौधरी दुवैजनाको प्रदेश क्षेत्र हो। उनीहरुले काँग्रेसबाट सिफारिस भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रणबहादुर रावललाई रोक्नुपर्ने दवाव छ। रावल २०७४ को निर्वाचनमा विजयी भएका हुन।
माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा टीकापुर नगरपालिकाको प्रमुखमा काँग्रेस नेता नवराज रावललाई अघि सारेको थियो। गठबन्धन अन्र्तगत प्रमुखमा काँग्रेसलाई अघि सारेको माओवादी केन्द्रले उपप्रमुखमा चित्त बुझाएको थियो। प्रमुखमा काँग्रेस उम्मेदवार रावल पराजित भए भने उपप्रमुखमा माओवादी केन्द्रका नगर अध्यक्ष शाह विजयी भए।