अत्तरिया : धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए) कलेजले अमेरिकाको न्यूयोर्क शहरमा आयोजित एक भव्य समारोहकाबीच अन्तर्राष्ट्रिय ग्रीन कलेज अवार्ड पाएको छ । वातावरणका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका विश्वभरका शैक्षिकसंस्था सहभागी उक्त कार्यक्रममा एसपीएलाई स्थानीय वातावरण संरक्षणमा उत्कृष्ट कार्य गरेको भन्दै अवार्ड दिएको हो । ‘ग्रीन म्यान्टर्स’ नामक संस्थाले प्रदान गरेको उक्त अवार्ड पाउने एसपीए नेपालको एकमात्रै कलेज हो ।
४० देशका दुईहजार बढी शैक्षिक संस्थाहरुले सहभागिता जनाएको कार्यक्रममा एसपीएले उक्त अवार्ड पाएको हो । एसपीएका पूर्व कर्मचारी हर्क बोहराले उक्त अवार्ड ग्रहण गरेका थिए । शैक्षिक क्रियाकलापबाट स्थानीय वातावरण संरक्षणमा खेलेको भूमिकालाई मुख्य आधार बनाएर आयोजकले अवार्ड प्रदान गरेको हो । यो कार्यक्रम संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक काउन्सिल अन्तर्गत समेत पर्दछ ।
एसपीएका क्याम्पस प्रमुख योगराज गौतमले संसारको एक कुनामा रहेको कलेजलाई अर्को कुनामा रहेको संस्थाले सम्मान गर्दा अन्त्यन्तै हर्षित भएको प्रतिक्रिया दिए । उनले आफूहरुले विद्यार्थी, अभिभावक तथा समाजको हितमा काम गर्दाको प्रतिफल पाएको बताए । ‘संसारभरका शैक्षिक संस्थाहरुमाझबाट मनोनयनमा पर्नु नै हाम्रा लागि अवार्ड ग्रहण गरे बराबर थियो,’ क्याम्पस प्रमुख योगराज उपाध्यायले भने, ‘अवार्ड नै पाएपछि एसपीए शिक्षादीक्षा, विद्यार्थीको सर्वाङ्गीण विकास तथा सामाजिक क्षेत्रमा विश्वका हजारौं कलेजभन्दा अघि रहेको प्रमाणित गरिदिएको छ । यो हाम्रा लागि गर्वको कुरा हो । साथसाथै विद्यार्थी, अभिभावक र समाजको हितमा काम गर्दाको प्रतिफल मिलेको महसुस गरेका छौं ।’
कार्यक्रममा विश्वभरबाट वातावरण क्षेत्रमा काम गरेका लब्ध प्रतिष्ठित व्यक्ति, संघ संस्थाले पनि आफ्नो प्रेरणादायी अनुभव साटासाट गरेको थियो । लामो समयदेखि एसपीए कलेजले ‘ग्रीनक्लिन धनगढी’ क्लब गठन गर्दै बातावरण संरक्षणका क्षेत्रमा गर्दै आएको छ । ग्रीनक्लिन धनगढीमा एसपीएका विधार्थीहरु ग्रीन भोलेन्टियर्सका रुपमा कार्यरत छन् । कलेजले धनगढी मुख्य तथा सहायक बजार क्षेत्रमा, विभिन्न स्कुलहरु, छात्रावासहरु, धार्मिक, सामाजिक तथा सार्वजनिक क्षेत्रलगायत सरकारी निकायहरुमा, डुबान क्षेत्रलगायत विभिन्न ठाउँहरुमा वृक्षारोपण गर्दै आएको छ । यस्तै वातावरण हराभरा बनाउँनका लागि कलेजले नियमित सरसफाई अभियान सञ्चालन गर्दै आएका छन् ।
कलेजको ग्रीनक्लिन क्लबले धनगढी शहरलाई ग्रीन र क्लिन बनाउँने उदेश्य राखेको क्लबमा आवद्ध विधार्थी स्यामुयल न्यौपानेले बताउँछन् । उहाँले ग्रीन कलेज अवार्ड पाउँदा विगत लामो समयदेखि आफूहरुले वातावरणको क्षेत्रमा गर्दै आएको प्रयासलाई संसारले पहिचान गरेको बताए । ‘हामीले सुदूरपश्चिम प्रदेशको मुख्य हब धनगढीलाई सुन्दर र हराभरा बनाउँने उदेश्यका साथ विगत एक दशकदेखि अनवरत रुपमा काम गर्दै आएका छौं,’ एसपीएका वातावरण अभियान्ता न्यौपानेले भने, ‘हाम्रो प्रयासको पहिचान गर्दै अमेरिकाको न्यूयोर्क शहरमा भएको अवार्ड हामीले पाएका छौं । यो एसपीएनसँगै समग्र सुदूरपश्चिम र देशका लागि गौरवको क्षण हो ।’

धनगढीलाई हराभरा बनाउँने उदेश्यले ग्रीनक्लिन धनगढीको स्थापना २०१२ सालमै एसपीए कलेजका प्रबन्ध निर्देशक सुवाश शाहीले गरेका थिए । शाही संस्थाका संस्थापक अध्यक्ष समेत हुन । उनका पालामा ग्रीन क्लिन धनगढीले सम्पूर्ण धनगढीको मुख्य बजार क्षेत्र तथा सहायक मार्गमा वृक्षारोपण सम्पन्न गरेको थियो । त्यसपछि एसपीए कलेजका ग्रीन स्वयमसेवकहरुले ग्रीनक्लिन अभियानलाई नियमित अघि बढाईरहेका छन् । अघिल्लो हप्तामात्रै ग्रीन स्वयमसेवकहरुले धनगढीबजार क्षेत्रको सरसफाई, तारानगरस्थित आमाको मायाँ छात्रवासमा वृक्षारोपणलगायत कार्यक्रम सम्पन्न गरेका थिए । हाल ग्रीन भ्योलिन्टियर्सहरु एक शैंक्षिक संस्थामा एक कमिटि गठन गरिरहेका छन् । हरेक विद्यालयमा ग्रीन भ्योलेन्टियर्सहरु तयार पार्दै आ आफ्नो क्षेत्रको वातावरण संरक्षणमा विधार्थीहरुलाई वातावरण संरक्षणमा प्रेरित गर्ने उदेश्य एसपीएले राखेको छ ।