अत्तरिया : कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिसमा परेका नेपाली कांग्रेसका नेता प्रकाशबहादुर बम प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने भएका छन् ।
बालुवाटारले पार्टीका सुदूरपश्चिम समितिका सभापति बिरबहादुर बलायरलाई कैलाली–४ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएर डोटीमा समाजवादीका प्रेमबहादुर आलेलाई लडाउने भएपछि बमलाई प्रदेशमा लडाउने भएको हो ।
मंगलबार पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर कैलाली फर्किएका बमले आफूलाई प्रदेशसभा सदस्यको निर्वाचनको तयारी गर्न निर्देशन दिइएको खुलाएका छन् ।
‘त्यहाँबाट प्रतिनिधिसभामा बिरबहादुर बलायर लड्नुहुन्छ । तपाई प्रदेशसभा ख का लागि तयारी गर्नुस् भनेर प्रस्ताव गरिएको छ,’ बमले भने, ‘अब सोहीअनुसार तयारीमा लाग्ने सोच बनाएको छु ।’ सत्तारुढ गठबन्धनलाई कायम राख्न शेरबहादुर देउवाले बलायरलाई कैलाली–४ बाट उम्मेदवार बनाउने भएका हुन् । सोही कारण अहिले उनी अन्य आकांक्षी नेताहरुलाई व्यवस्थापन गर्न लागेका छन् ।
सम्बन्धित पाेस्टहरु