प्रतिनिधि सभा निर्वाचन २०७९ : प्रधानमन्त्री देउवाले पत्नीमार्फत बुझाए उजुरीको जवाफ

अत्तरिया : प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध परेको उजुरीको जवाफ बुझाएका छन् । मंसिरमा हुने निर्वाचनका उम्मेदवार देउवाले मंगलबार पत्नी आरजु राणा देउवामार्फत मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा जवाफ बुझाएका हुन् ।
देउवापत्नी आरजुले प्रमाणका रूपमा वडा कार्यालयको सिफारिस पनि बुझाएकी छन् । यस्तै, नागरिकताअनुसार नै निर्वाचन आयोगले मतदाता नामावली तयार पारेकाले विवरण प्रविष्ट गर्दा आयोगले नै त्रुटि गरेको जवाफमा उल्लेख गरिएको जनाएको छ । डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले उजुरीको जवाफ आएको जानकारी दिए । ‘नागरिकता र मतदाता नामावलीमा जन्ममिति फरक–फरक रहेको भन्दै उजुरी परेको थियो’ उनले भने, ‘छानबिन गर्दै आज साँझ ५ बजेसम्म निर्णय लिन्छौँ ।’
उमेदवारविरुद्ध परेका उजुरीको निर्णय निर्वाचन अधिकृतले नै गर्न पाउने कानुनी व्यवस्था छ । एउटामात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट उमेदवारी दिएका देउवाको उमेदवारी रद्द गर्नुपर्ने माग गर्दै उनका प्रतिस्पर्धी कर्ण मल्लले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए । देउवाको नागरिकता र मतदाता नामावलीमा फरक–फरक जन्ममिति रहेको भन्दै मल्लले उम्मेदवारी खारेजीको मागसहित उजुरी दिएका हुन् ।

नागरिकतामा देउवाको जन्ममिति वि.सं. २००३ साल जेठ ३१ गते र मतदाता नामावलीमा जन्ममिति २००२ साल जेठ ३१ गते रहेको पाइएको छ । देउवाको उम्मेदवारीविरुद्ध उजुरी दिने मल्ल कांग्रेस डडेलधुराका पूर्वसभापति हुन् । उनी ०७४ सालको निर्वाचनमा कांग्रेसबाटै प्रदेशसभा सदस्यमा विजयी भएका थिए । गएको वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा नेकपा ९एमाले०सँग तालमेल गर्दै कांग्रेस बीपीको चुनाव चिह्नबाट आफूनिकटका व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै कांग्रेसले मल्ललाई पार्टीबाट निष्कासित गरेको थियो । अहिले कांग्रेस बीपीका वरिष्ठ उपसभापति रहेका मल्लले देउवाविरुद्ध चुनाव लड्न उमेदवारी दर्ता गराएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.