अत्तरिया : डडेल्धुरामा प्रतिनिधि सभातर्फ प्रधानमन्त्री एंव नेपाली काँग्रेस सभापति शेरबहादुर देउवासँग चुनाव लड्न ७ जना मैदानमा छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधि सभामा विपि काँग्रेसका कर्ण मल्ल, स्वतन्त्र उम्मेदवार विक्रमबहादुर शाही, राप्रपाका गोविन्द खडायत, जनता समाजवादी पार्टीका श्याम सिनाल, स्वतन्त्र उम्मेदवार सागर ढकाल, कर्णसिंह रावल र लालबहादुर कठायत चुनावी मैदानमा छन्।
डडेल्धुरामा प्रतिनिधि सभातर्फ चुनाव लड्न देउवासँगै ११ जनाको उम्मेदवारी परेको थियो। एमालेका स्नेही, स्वतन्त्र दानबहादुर पाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कालीप्रसाद जोशीले पछि उम्मेदवारी फिर्ता लिएका थिए।
सत्ता गठबन्धन दलबाट डडेल्धुरा प्रदेशसभा (१) मा माओवादी केन्द्र सुदूरपश्चिमका इन्चार्ज खगराज भट्ट र प्रदेशसभा (२) मा कांग्रेस नेता एवम् सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा मैदानमा छन्।
प्रदेशसभा (१) मा नेकपा एमालेबाट पठानसिंह बोहरा र प्रदेशसभा (२) मा गजेन्द्र शाही उम्मेदवार छन्। प्रदेशसभा (२) मा नेकपा एकीकृत समाजवादीका नेता डा. तारा जोशी स्वतन्त्र हैसियतमा चुनावी मैदानमा छन्। यसअघि ०७४ सालको चुनावमा एमालेबाट उम्मेदवार बनेका उनी झिनो मतान्तरले पराजित भएका थिए।