धनगढी : कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डिल्लीराज पन्त र प्रदेश (क) का प्रदेशसभा सदस्य उम्मेदवार रमेश धामीले मतदाता भेट्न घरदैलो गर्ने कार्यलाई तीव्रता दिएका छन् । घरदैलो गर्ने क्रममा उम्मेदवारहरुले जनताका समस्या सुन्नुका साथै स्थलगत अवलोकन निरीक्षणसमेत गरिरहेका छन् ।
त्यसक्रममा सोमबार उम्मेदवार पन्त र धामीले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र १ मा घरदैलो गरेका छन् । सोही अवसरमा स्थानीयले उम्मेदवारहरु समक्ष थुप्रै समस्या तथा अपेक्षाहरु राखे । स्थानीयले विजुली, पानी, बाटोघाटो, पुल÷पुलेसा निर्माण गर्नुपर्ने लगायतका समस्याहरु उम्मेदवारहरुसामु राखेका थिए ।
उम्मेदवार द्वयले स्थानीयका समस्या बुझ्नुका साथै जिर्ण अवस्थामा रहेका आसपासका भौतिक संरचनाको पनि अवलोकन गरे । त्यसक्रममा उम्मेदवार द्वयले सोही स्थानको खोलामा जिर्ण अवस्थामा पुगेको कल्भर्ट र बाटोको अवलोकन निरीक्षणसमेत गरे ।
त्यस क्षेत्रको अवलोकन निरीक्षण गर्दै उम्मेदवारहरुले कल्भर्ट पुनःनिर्माणका लागि आवश्यक पहल गर्ने र विजुलीको भोल्टेज बढाउनका लागि तत्काल पहल थाल्ने आश्वासनसमेत दिएका छन् । साथै उक्त काम गर्ने अवसर दिनका लागि उम्मेदवार द्वय आफूहरुलाई निर्वाचनमा विजयी गराउनसमेत आग्रह गरेका छन् ।
स्थानीयले पनि यसअघिका नेताहरुको परीक्षण भइसकेकाले अब आगामी निर्वाचनमा नयाँ व्यक्तिलाई अवसर दिएर हेर्ने आश्वासन दिएका छन् । त्यसका लागि उनीहरुले जितेर गइसकेपछि निर्वाचनमा जनताले राखेका समस्याहरु समाधानका लागि लाग्नुपर्ने शर्त अघि सारेका छन् ।